काठमाडौं । शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा पहिलो पटक मानिसमा मुटुको कृत्रिम भल्व राखिएको छ । केन्द्रले एक ८० वर्षीया महिलाको मुटुको एओर्टिक भल्व साँधुरो भएपछि उक्त भल्वको स्थानमा नयाँ कृत्रिम भल्व राखिएको केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारीले जानकारी दिए ।
उनले नेपालमा पहिलो पटक सफलतापूर्वक ‘ट्रान्सक्याथर इरोटिक भल्व इम्प्लामेन्टेशन टाभी’ विधिबाट महिलाको सफलतापूर्वक भल्वको प्रत्यारोपण गरिएको जानकारी दिए । यसविधिअनुसार तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमबाट निर्मित तार अर्थात् क्याथेटरद्वारा मानवनिर्मित भल्व मुटुभित्र छिराई रोग भएको एओर्टिक भल्वको स्थानमा प्रत्यारोपण गरिन्छ । प्रत्यरोपण भएको भल्वले तुरुन्तै काम शुरुगर्ने हुँदा बिरामीलाई चाँडै नै आराम महसूस हुने गर्दछ ।
केन्द्रले ती बिरामी महिलाको सोमबार भल्व प्रत्यारोपण गरेर शुक्रबार डिस्चार्ज गरेको थियो। ती महिलाको भल्व प्रत्यारोपण केन्द्रले दुई महिनाको अथक प्रयासपछि सफल पारेको हो । बिरामीको मुटुमा २३ एमएमको भल्व राखिएको छ । नेपालमा नै उक्त भल्वको सफल प्रत्यरोपण गरेपछि अब भल्व परिवर्तन गर्नका लागि भारतलगायत विदेशमा महङ्गो खर्च गरेर जान नपर्ने केन्द्रले जनाएको छ । केन्द्रका निर्देशक डा अधिकारीका नेतृत्वमा रहेको २२ जनाको चिकित्सकसहित टोली सफल भल्वको प्रत्यारोपण गरेको हो ।
कृत्रिम भल्व नेदरल्याण्डमबाट खरिद गरी ल्याइएको हो । सन् २००२ देखि यस किसिमको कृत्रिम भल्व फ्रान्समा पहिलो पटक गरिएको थियो । कृत्रिम भल्व प्रत्यारोपण भारतमा ६० देखि ८० लाख रुपियाँ लाग्ने र नेपालमा २० देखि २५ लाखमा गर्न सकिने केन्द्रका निर्देशक डा अधिकारीले बताए ।