महाभारत, काभ्रे । काभ्रेको गाउँ–गाउँमा बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र युवा तथा खेलकुद मन्त्री रत्न ढकाललाई भव्य स्वागत गरेका छन् । काभ्रेको महाभारत गाउँपालिका–८ स्थित् घर्तिछापमा तीन विद्यालयको शिलान्यासको लागि जाने क्रममा मन्त्रीद्धयले जनता, जनप्रतिनिधि र विद्यार्थीले फुल माला र अविर लगाएर स्वागत गरेका हुन् ।
मुख्यमन्त्री पाण्डे र खेलकुद मन्त्री ढकाललाई मकवनपुरको बागमती गाउँपालिका जुरजुरेमा सो गाउँपालिकाका अध्यक्ष सर्केश घलानले शुरुमा स्वागत गरेका थिए । त्यहाँबाट केही अघि बढ्नेसँगै बगिरीका स्थानीयले स्वागत गरेका थिए ।
यसपछि काभ्रे प्रवेश गरेका मुख्यमन्त्रीलाई मकवनपुर र काभ्रेको सिमाना सिक्रेदोभानमा महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले खादा लगाएर स्वागत गरेका थिए । त्यससँगै मुख्यमन्त्री पाण्डे र खेलकुद मन्त्री ढकाललाई काभ्रेको खानीखोला–५ स्थित् ताल्ढुंगामा स्थानीय जनताले स्वगात गरेका थिए ।
त्यपछि पनि मन्त्रीहरुलाई स्वागत गर्ने क्रम घट्नुको सट्टा झन् बढ्दै गयो । त्यसैक्रममा मन्त्रीद्धयलाई खानीखोला–४ आँपटार, महाभारत–१ को धापमा विद्यार्थी र गोकुले लगायतका ठाउँमा विद्यार्थी, शिक्षकसँगै स्थानीयले स्वागत गरेका थिए ।
कार्यक्रम स्थल घर्तिछापमा झन् मुख्यमन्त्रीको स्वागतको लागि विद्यार्थी लगायतका स्थानीय व्यग्र प्रतिक्षामा देखिन्थे । जब मुख्य मन्त्री पाण्डे र खेलुकद मन्त्री गाडीबाट ओर्लिए त्यहाँको रौनकता साँच्चै नै रमाइलो देखिएको थियो ।
करिब ३ सय मिटरदेखि लालीगुराँस लगायतका फुल र माला लिएर स्वागतको लागि लाइन बसेका साना विद्यार्थी, जनप्रतिनिधि, स्थानीयले मुख्यमन्त्री पाण्ड र मन्त्री ढकाललाई भव्य स्वागतसँगै मगर समुदायको प्रचलित नाचसमेत प्रस्तुत गरेका थिए ।
त्यसरी स्वागत पाएका मुख्यमन्त्रीले भने, ‘आफु शिक्षणसँगै राजनीतिमा लागेपनि आफ्नो जीवनमा अमिट छापा बस्ने गरी विद्यार्थी तथा स्थानीयबाट स्वागत पाएकोमा अत्यन्तै खुशी छु । यस्तो न्यानो माया विरलै मान्छेले पाउने गर्छ ।’
उनीहरुले स्वागत मात्रै गरेन मुख्यमन्त्री पाण्डेलाई मागका चाङ नै बुझाएका छन् । उनीहरुले मुख्यमन्त्री सामु सुविधा सम्पन्न सडक, खानेपानी, पक्की पुल, प्रविधिक विद्यालय, सिँचाई लगायतका करिब ४० वटाभन्दा बढी मागहरु समेत बुझाएका हुन् ।
मुख्यमन्त्री पाण्डेले माग पत्रहरु बुझ्दै प्रथामिकताको आधारमा कम्तीमा एक÷एक वटा योजना पार्ने अश्वसन समेत दिएका थिए । बागमती प्रदेशको राजधानी हेटौँडाबाट विहान ७ बजे निस्केका मन्त्रीद्धय २ बजे कार्यक्रम स्थलमा पुग्दा अधिंकाश समय स्वागत थप्ने काम नै वितेको थियो । मन्त्रीद्धयसँगै माओवादी केन्द्र बागमती प्रदेशका सचिव इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ लगायत रहेका थिए ।
कार्यक्रममा मुख्यमन्त्री पाण्डेले एशियाली विकास बैंक (एडिबी)को १३ करोड ४८ लाख ७५ हजार ७ सय ३० रुपैयाँ सहयोगमा निर्माण हुने महाभारत–१, २ र ८ का गोकुले माध्यमिक विद्यालय, कालीदेवी मावि र जनकल्याण मावि गरी तीन विद्यालयको ५४ कोठे सात भवनको संयुक्त शिलान्यास गरेका थिए ।
जसमा गोकुले मावि ५ करोड ९२ लाख ६५ हजार ९ सय ४३ रुपैँयाको लागतमा १८ कोठे दुई भवन, कालीदेवी माविमा ६ करोड ९६ लाख ६१ हजार ३५ मा १८ कोठे तीन भवन र जनकल्याण माविमा ५ करोड ९४ लाख २८ हजार ८ हजार ७ सय ५१ रुपैयाँमा १८ कोठे दुई भवन बन्ने छन् ।