काठमाडौं । नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय तह निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह निर्वाचनमा सम्पूर्ण शक्ति लगाउने निर्णय गरेको हो । बैठकले दुईमहिने निर्वाचन केन्द्रित कार्यक्रम बनाएको छ । बैठकले केन्द्रीय सदस्यको कार्यविभाजन गरेर सबै सदस्यलाई प्रदेश, जिल्ला र पालिकामा केन्द्रित गर्ने निर्णय गरेको नेता वर्षमान पुनले जानकारी दिए।
यस्तै, बैठकले स्थानीय निर्वाचनमा आवश्यक चुनावी तालमेलको वातावरण बनाउन केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा कार्यदल बनाउने निर्णय गरेको छ । कार्यदलले सम्बन्धित तहमा वार्ता संवाद गर्नेछ । माओवादीले ७५३ पालिका र छ हजार ७४३ वडामा एकल रूपमै भए पनि निर्वाचन लड्ने निर्णय गरेको पनि उनले जानकारी दिए।
बैठकले पार्टी विधानअनुसार ९७ जना केन्द्रीय सदस्यको मनोनयन गरेको छ । यस्तै २५ प्रतिशतमा नबढ्ने गरी वैकल्पिक केन्द्रीय सदस्य चयन गर्ने निर्णय गरेको छ । बैठकले आगामी केन्द्रीय समिति बैठकबाट पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरो टुङ्ग्याउने निर्णय गरेको नेता पुनले जानकारी दिए ।
व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट अनुमोदन भएको एमसिसी सम्झौतालाई लिएर आएको मतभेदलाई सम्मानजनक ढङ्गले पार्टी केन्द्रीय समितिमा दर्ज गरिराख्ने र आगामी जेठ २० गते बस्ने अर्को केन्द्रीय समिति बैठकमा छलफल गरेर टुङ्गोमा पुग्ने निर्णय भएको उनको भनाइ छ ।