अमेरिकाले रुसबाट तेल, ग्यासलगायत उर्जाको आयातमा प्रतिबन्ध लगाएको छ । युक्रेनमाथि मस्कोको आक्रमणको विरोधमा आर्थिक प्रतिबन्धलाई बढाउँदै अमेरिकाले रुसी तेलमा प्रतिबन्ध लगाएका हुन् ।
ह्वाइट हाउसमा सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी तेल र ग्यासलगायत ऊर्जाका स्रोतको सबै आयातमा प्रतिबन्ध लगाएको बताए । बाइडेनका अनुसार अमेरिकाले एकतर्फी रूपमा यो कदम चाल्नेछ । अब रूसी तेल अमेरिकी बन्दरगाहमार्फत कारोबार हुने छैन । युक्रेनमा आक्रमणपछि अमेरिकाले रुसमाथि लगाएको यो पछिल्लो प्रतिबन्ध हो । पश्चिमा देशले तेल निर्यातमा प्रतिबन्ध लगाएमा युरोपमा ग्यास आपूर्ति बन्द गर्ने रुसले यसअघि नै चेतावनी दिएको छ ।
अमेरिकी राष्ट्रपति बाइडेनले यो कदमले रुसको अर्थतन्त्रको मुख्य धमनीलाई नै प्रहार गर्ने बताएका छन्। ऊर्जा निर्यात रुसी आम्दानीको एउटा महत्त्वपूर्ण स्रोत हो, तर पश्चिमी देशहरूको यो कदमले उनीहरूकै उपभोक्तालाई पनि असर गर्ने सम्भावना हुन्छ। यसैबीच, बहुराष्ट्रिय ठूला ब्रान्डहरूले रुसबाट बाहिरिने क्रम जारी राखेका छन्।
म्याकडोनल्डस् र कोकाकोला रुस छाड्ने पछिल्ला कम्पनी बनेका छन्। रुसको अर्थतन्त्र ऊर्जा व्यापारमा धेरै मात्रामा निर्भर छ। यो साउदी अरब र अमेरिकापछि विश्वकै तेस्रो ठूलो तेल उत्पादक देश हो। पश्चिमा प्रतिबन्धहरूको घोषणाअघि रुसका उपप्रधानमन्त्री अलेक्सान्डर नोभाकले त्यस्ता प्रतिबन्धहरूले विश्वव्यापी अर्थतन्त्रमा विध्वंसक नतिजा ल्याउने र तेलको मूल्य दोब्बरले बढेर तीन सय डलरसम्म पुग्न सक्ने चेतावनी दिएका थिए ।
उसले जर्मनीमा ग्यास आपूर्ति गर्ने आफ्नो मुख्य ग्यास पाइपलाइन बन्द गर्नसक्ने चेतावनी पनि दिएको छ। द्वन्द्वले अमेरिका र ब्रिटेनमा पेट्रोलको मूल्य हालसम्मकै उच्च भएको छ। युद्ध भइरहेको युक्रेनमा आक्रमणमा परेका दुईवटा क्षेत्रबाट सर्वसाधारणलाई बाहिर निकालिएको छ। अमेरिकाले हालसम्म ४ हजार रुसी सैनिक मारिएको हुनसक्ने बताएको छ। अमेरिकी राजनीतिका दुवै पक्षबाट राष्ट्रपति बाइडनलाई रुसी अर्थतन्त्रलाई लक्षित गर्न दबाव परेको थियो।
वाईडेन यो कदम देशभित्र असर पर्नेू मूल्यमा नै चालिएको र साझेदारहरूसँग छलफल गरेर नै निर्णय गरिएको बताए। उस्तै शैलीमा ब्रिटेनले पनि सन् २०२२ को अन्त्यसम्ममा रुसी तेलको आयात बन्द गर्ने भएको छ। प्रधानमन्त्री बोरिस जोन्सनले यो कदमले रुसलाई तुरुन्तै असर गर्ने छैन भनेर स्वीकारेका छन्। अमेरिकी तेल र प्रशोधित उत्पादन आयातको लगभग ८ प्रतिशत रुसबाट आयात हुन्छ रुसले ब्रिटिश तेल आयातको लगभग ६ प्रतिशत हिस्सा रुसी तेलले ओगटेको छ। तर ईयू भने रुसी ऊर्जामा धेरै नै निर्भर छ। त्यसैले ईयूले तत्कालै प्रतिबन्ध लगाउने कडा कदम चाल्न सकेको छैन।