काभ्रे । काभ्रेको रोशी गाउँपालिका– ३ भञ्ज्याङमा आफ्नै कान्छा छोराले आमाको हत्या गरेका छन् । लोहाेरो र आग्लोले टाउकोमा हिर्काएर उनले हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार गत कात्तिक १६ गते करिब सवा ४ बजेको समयमा रोशी- ३ भञ्ज्याङ गाउँ बस्ने साहिँलाकाजी भन्ने पाल्छङ लामाको श्रीमती ६९ वर्षीया माइली लामा आफ्नै घरको भान्साकोठामा टाउकोमा चोट लागी मृत अवस्थामा फेला परेकी थिइन् ।
सूचना प्राप्त हुनसाथ तत्काल प्रहरी चौकी खहरेपाँगुबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा टोली खटिई घटनास्थललाई सुरक्षित गरिएको थियो । इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक कृष्ण गिरी र जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षकको कमान्डमा तालिमप्राप्त कुकुरसहितको टोली खटिएर गई प्रारम्भिक अनुसन्धान गरिएको थियो । सो अनुसन्धानमा मृतकको कान्छो छोरा २८ वर्षीय फुर्साङ लामालाई पक्राउ गरी सोधपुछ गर्दा मृतक आमालाई मारेको स्विकारेको प्रहरीले जानकारी दिए ।
फुर्साङ लामाले भान्सा कोठामा सुतिरहेको आफ्नै आमाले कानमा लगाएको सुनको रिङ र नगदको लोभले मसला पिस्ने सिलौटो ढुंगाको लोहाेरोले टाउकोमा प्रहार गरी अचेत अवस्थामा रहेकी आमालाई पुनः नजिकै ढोकाको आग्लोले प्रहार गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जानकारी दिए । मृत्यु भएपछि आमाले कानमा लगाएको सुनको रिङ र साथमा रहेको नगदसमेत लिई घटनास्थलबाट भागेका थिए ।
हत्या गरी फरार भएका छिरा फुर्साङलाई हत्या गरेको दुई दिनपछि १८ गते पक्राउ गरेको प्रहरीले जानकारी दिए । हत्याको आरोपमा पक्राउ परेका फुर्साङलाई जिल्ला अदातलत काभ्रेबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिए ।