
महाभारत, काभ्रे । जिल्लाको विकट महाभारत गाउँपालिकाभित्र सञ्चालित प्रादेशिक सडकको अनुगमन गरेका छन् । बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव यमलाल भुसाल, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव धनीराम शर्मा, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अशोक कुमार शाहले संयुक्त रुपमा सडकको अनुगमन गरेका हुन् ।
महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार निर्माण कम्पनीले तोकिएको समय सकिन लाग्दासमेत कामको गति सुस्ता भएपछि प्रदेशका विभिन्न मन्त्रालयका सचिवहरु ल्याएर सो सडकको अनुगमन गराएको जानकारी दिए ।


भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव शाहले अनुगमनको क्रममा निर्माण कम्पनी (ठेकेदार)ले मापदण्ड अनुसार काम गरेको नदेखिएको र ढिलाई गरेका भन्दै कारबाही गर्ने बताए । उनले तारजाली अवधि सकिन लाग्दासमेत भौतिक प्रगतिमा सडक केही फराकिलो र जारजालीको बाहेक काम नभएको बताए ।
‘तारजाली पनि मापदण्ड विपरित जग नै बालियो बनाएको छैन, निर्माण कार्य नसकिदै भत्किसेको छ,’ उनले भने, ‘हामी मापदण्ड विपरित हालेको तारजाली बापतको रकम रोकिन्छौ । जति राम्रो काम भएको त्यही अनुरुप मात्रै भुक्तानी हुनेछ ।’
गाउँपालिकाको पिन्थली–रजाबास–चारकिल्ला–तीनखुट्टे–देवीटार–घर्तिछाप–गोकुले सडक आयोजनाको दोस्रो खण्ड अन्तर्गत पर्ने तीनखुट्टे–खोलाघारी–देवीटार सडक खण्डको सडकको कालोपत्रेको भौतिक प्रगति २० प्रतिशत पनि हुन सकेको छैन । जबकी निर्माणको सम्झौता अवधि यही असारमा सकिदैछ ।
गाउँपालिकाका अध्यक्ष जिम्बाले तीनखुट्टे–खोलाघारी–देवीटार सडक खण्डको काम सम्पन्न भएपछि गाउँपालिकाको केन्द्रमा सहज हुने बताए । उनका अनुसार ८.७ किलोमिटर सडक कालोपत्रे हुन लागेको भएपनि अझै कालेपत्रेका काम सुरु हुन सकेको छैन ।
सडकका लागि २०७९ साल असार ३० गते सम्ममा सडक स्तरोन्नति लगायतका संरचनाहरु तथा सडक कालोपत्रे सक्ने गरी श्रेष्ठ÷साक्षम जे.भी. सामाखुसी, काठमाडौँले ४९ करोडको बजेट भएपनि २५ करोड ८२ लाख १० हजार ३ सय १६ रुपैँया लागतमा सम्झौता गरेको थियो ।
२०७७ असोज २० मा बागमती प्रदेशका पुर्व भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले कालोपत्रेका लागि उक्त सडकको शिलान्यास गरेको थियो ।
त्यस्तै सडक विस्तार गर्दा पहिरो गएको स्थानबाट ढुंगा निकाल्दा बस्ती नै जोखिममा परेको छ ।सो स्थानबाट ढुंगा निकाल्दा बन्द गर्न पटक–पटक अनुरोध गरे पनि निर्माण कम्पनीले अटेर गरेको बालखोपका स्थानीयहरु बताउँछन् ।
सडकमा ढलान, नाली, तारजाली लगायत कालोपत्रेसमेत निर्माण गरिने भएपनि हालसम्म तारजालीको मात्र काम भइरहेको छ । त्यस्तै घर्तिछाप उकालोमा लागयतका केही सडक खण्डमा भने स्तरोन्नतिसँगै नाली निर्माणको काम भइरहेको छ ।