
काठमाडौँ । स्वयम्भूबाट पक्राउ परेकी आशिका तामाङलाई प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान थालेको छ । उनलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।
उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । प्रहरी प्रतिवेदनको आधारमा गौशाला प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।


माघ २ मा पक्राउ परेकी आशिकालाई अनुसन्धान गर्न पशुपति क्षेत्र विकाश कोषले पनि प्रहरीलाई पत्र पठाएको छ । पशुपति क्षेत्र विकाश कोषका कर्मचारीको विषयमा तामाङले गौशालाका डीएसपी शुकदेव खनालसँग ‘विवाद’ गरेकी थिइन् ।
प्रहरीसँग उनले विवाद गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । उनले प्रहरीको काममा अवरोध सिर्जना गरेको आरोप छ ।