
- डिबि लामा
खानीखोला, काभ्रे । तामाङ समुदायको राष्ट्रिय पर्व २८६१ डुल सा पुख्री सोनाम ल्होछारको अवसरमा खानीखोला गाउँपालिकामा बृहत् सांस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । बौद्धलम्बी तथा तामाङहरुको मुख्य पर्व तामाङ समुदायको सांकृतिक तथा धार्मिक पर्व सोनाम ल्होछारको अवसरमा जिल्लाको डाँडापारिस्थित खानीखोला गाउँपालिकाको सहयोगमा नेपाल तामाङ घेदुङ खानीखोला गाउँपालिका समिति र टीका साहित्य समाजको सहकार्यमा मंगलबार ताल्ढुंगामा कार्यक्रम गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवं बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल नेपाल बहुधार्मिक बहुसांस्कृतिक विभिन्न विविधता भएको राष्ट्र भएकोले यो तामाङ समुदायहरुले मनाउँदै आएको मुख्य पर्वको रुपमा मनाउदै आएको बताउँदै संस्कृतिको संरक्षण गर्नु आफ्नो संस्कारलाई जोगाएर पहिचान झल्काउनु नै अहिलेको प्राथमिकताको विषय भएको बताए । उनका अनुसार, यसको संरक्षण गर्न अब तामाङ समुदाय एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ । यसको संरक्षण गर्न प्रदेश सरकारको साथ र सहयोग रहने प्रतिबद्धता उनले व्यक्त गरे ।


कार्यक्रममा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)ले पालिकामा रहेका सबै समुदायका कला, संस्कृतिको संरक्षणका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको तामाङ्हरुले मनाउने ल्होछार माझी समुदायको लदि पर्व, मगरहरुको मागेसंक्रान्ती, गुरुङहरुको तमु ल्होछार लगाएत विभिन्न संस्कृतिहरुलाई संरक्षण तथा सम्बद्र्धन गर्नका लागि सहयोग गर्दै आएको र भोलिका दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
ल्होछार पर्वलाई सिमित ठाउँ र स्थानमा मात्र नभई तामाङ समुदायको मुख्य पर्वलाई आ–आफ्नो घर–घरमा विभिन्न आफ्नो संस्कार अनुरुप पूजा पाठ गरी मनाउन सम्पूर्ण खानीखोला स्थानीयहरुलाई उपाध्यक्ष दोर्जेमान जिम्बाले आग्रह गरे ।
हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले हर्षाेल्लासका साथ पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षको स्वागत गरेर सोनाम ल्होछार मनाउने गरिन्छ । सोनाम ल्होछारले सामाजिक एकतालाई अझै बलियो बनाउने विश्वास व्यक्त गर्दै अध्यक्ष थिङले चाडपर्व मनाउँदा तडकभडक नगरी मनाउन आग्रह गरे । खानीखोला तामाङ घेदुङ्ले सोनाम ल्होछारको अवसरमा हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रममा तामाङ घेदुङ पुर्व महासचिव काजिमान गोले, तामाङ घेदुङ अध्यक्ष लिला कुमार घलान, मिना पाख्रीन, दैबलाल घिसिङ, शेखर लामा, चित्र गोले, राजन अधिकारी , निशान मोक्तान, बुद्धि बहादुर स्याङ्तान, बृहस्पति घिसिङ, प्रेम थोकर लगायतले मन्तव्य राखेका थिए ।
राष्ट्रिय तामाङ कलाकारहरु फुल कुमार बम्जन र गायिका लक्ष्मी स्याङ्तान , मोडल अबिना गोले, गायक तथा मोडल गणेश जिम्बा, चेतन लामा , डान्सर रुजा लामा , डान्सर जेनिशा स्याङ्तान , राष्ट्रिय कलाकार संघ काभ्रे अध्यक्ष तथा लोक दोहोरी गायक डिएन दाहाल , कवि टीका थिङ लगायत स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुतिका साथ कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमको संचालन खानीखोला घेदुङ सचिव तथा कवि टीका अविरल साहित्य समाजको अध्यक्ष टीका थिङले संचालन गरेका थिए ।
यो वर्ष मनाउने सोनाम ल्होछार २८६१ औं डुल (सा पुख्री) ल्हो हो । जुन तिथि अनुसार माघ १७ गते परेको छ । ल्होछार पर्व मनाउनका लागि खानीखोला गाउँपालिकाको माघ ७ गते बसेको कार्यपालिका बैठकले सार्वजनिक बिदा दिएको छ । पालिकाले १६, १७ र १८ गतेसम्म बिदा दिने निर्णय गरेको हो ।