काभ्रे । शिक्षा तथा विज्ञान मन्त्री देवेन्द्र पौडेलले शिक्षालाई सिप र रोजगारसँग जोडेर लैजाने अभियानमा रहेका बताएका छन् । शानिबार काभ्रेको चौरीदेउराली गाउँपालिकास्थित् एक विद्यालयको ६१ औँ वार्षिकोत्सव एवं नव निर्मित चारकोठे र आठ कोठे भवनको संयुक्त उद्घटन गर्दै यस्तो बताएका हुन् ।
शिक्षा मन्त्री पौडेलले अहिलेको सबैभन्दा बढी आवश्यक शिक्षा र स्वास्थ्य रहेको बताए । उनले शिक्षा क्षेत्रमा देखिएको समस्या समाधानको लागि आफु लागिरहेको समेत बताए । ‘देशैभरिका शिक्षा क्षेत्रलाई सुधार गर्न जरुरी छ । ऐन पास गरेका छौँ,’ उनले भने, ‘विद्यालय सुधारका लागि शिक्षक महासंघ र अभिभावक महासंघसँगै शिक्षाविद्हरुसँग निरन्तर छलफल गरिरहेको छ ।’
उनले शिक्षक सेवा आयोगलाई सक्रिय बनाउदै लैजाने समेत बताए । उनले भने, ‘५७६ जना शिक्षकहरुलाई पुनर्स्थापना गरेको छ । शिक्षकहरुलाई कर्मचारीको सेवा सुबिधा समान गर्नेछौँ ।’
त्यस्तै शिक्षामन्त्री पौडेलले आफु संघीयताको लागि लडेको मान्छे भएको बताउँदै स्थानीय तहको अधिकार खुम्च्याउन भन्दा पनि थप बलियो बनाउन चाहेको बताए । ‘शिक्षक महासंघसँग गरेको सम्झौता स्थानीय तहको अधिकार खोस्न होइन,’ उनले भने, ‘शिक्षकहरुसँग गरेको संझौता तोड्मोड नगर्न अनुरोध गर्छु । हामीले किताब पनि सातै प्रदेशमा छाप्न लगाएका छौँ ।’
उनले निजी विद्यालयलाई गाली गर्नु भन्दा पनि सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न आग्रह गरे । उनले शैक्षिक सुधार गर्न कहिँबाट कोहि आउँकी भनेर मुख तोकेर नबसी आफैले गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा संघीय संसद गंगाबहादुर दोङ ‘वमध्वज’, चौरीदेउराली गाउँपालिकाका अध्यक्ष दिननाथ गौतम ‘प्रयास’ लगायतका उपस्थिति रहेका थिए ।