काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको बताएका छन् ।
भन्सार विभाग, त्रिपुरेश्वरमा आइतबार आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले आयातमा गरिएको कडाईले भन्सार असुली प्रभावित भए पनि मेहनत गरेर लक्ष्यमा पुग्न निर्देशन दिए । भन्सार कार्यालयमा देखिएका समस्या समाधान गर्न, नीतिबाट सिर्जित नयाँ चुनौतीको सामना गर्दै राजस्व परिचालनमा प्रभावकारी हुन र व्यापार सहजीकरणमा उत्कृष्ट भूमिका खेल्न गोष्ठी प्रभावकारी हुने आफूले विश्वास लिएको उनी बताउँछन् ।
त्यस्तै वस्तु आयातमा गरिएको वर्गिकरणसम्बन्धी व्यवस्थाले व्यवसायीमा असन्तुष्टि देखिएकाले त्यसलाई पनि गोष्ठीका माध्यमबाटै समाधानको सुत्र पहिल्याउन पनि उनले निर्देशन दिए । उनले भन्सार कार्यालयमा प्रयोग हुने भेहिकल स्क्यानिङ सम्बन्धी निर्देशिका बन्दै गरेको र चाँडै कार्यान्वयनमा आउने जानकारी दिए ।
अर्थमन्त्री शर्माले व्यापारलाई सहजीकरण गर्दै राजस्व परिचालनमा अगाडि बढ्न सबै कर्मचारीलाई निर्देशन दिए । माघ मसान्तसम्म तीन खर्ब ५ अर्ब राजस्व सङ्कलनको लक्ष्य भए नि आयातमा गरिएको कडाईका बाबजुद तीन खर्ब ८ अर्ब राजस्व सङ्कलन भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २९ प्रतिशत बढी हो ।