काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरेको छ ।
निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकोले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गर आचारसंहिता राजपत्रमा प्रकाशित गरेको हो ।
यो आचारसंहिता आयोगले तोकेको मितिदेखि लागू हुने उल्लेख गरेको छ । राजपत्रअनुसार बहालवाला जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने उल्लेख गरिएको छ।
‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी बहाल रहेका निर्वाचित वा मनोनीत पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन गर्नुअघि नै बहाल रहेको पदबाट राजीनामा दिनुपर्नेछ’ राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहिताको दफा ३६ मा उल्लेख छ ।
कुनै पनि राजनीतिक दल वा उम्मेदवारले अनुमति लिएको सवारी साधन प्रयोग गरी मतदाताहरू ओसारपसार गर्न नहुने उल्लेख गरेको छ ।
सम्बन्धित स्थान तोकी प्रयोग गर्ने गरी अनुमति लिएको सवारीसाधन अन्य स्थानमा प्रयोग गर्न नहुने, राजनीतिक दलले प्रचार प्रसारको लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनु पर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारले मात्र हेलिकप्टर सेवा प्रयोग गर्न सक्ने उल्लेख गरेको छ ।
राजनीतिक दलले हेलिकप्टर सेवा प्रयोग गर्दा राजनीतिक दलको लागि आयोगले निर्धारण गरेको समानुपातिक निर्वाचन प्रणाली बमोजिम बन्दसूचीका उम्मेदवारको संख्याको आधारमा राजनीतिक दलले गर्न पाउने खर्चको सीमाभित्र रही गर्नु पर्नेछ ।
राजनीतिक दल वा दलको निर्वाचन प्रतिनिधिले सवारी साधन प्रयोग गर्न सम्बन्धित निर्वाचन अधिकृतबाट अनुमतिपत्र लिनु पर्ने, तर, सवारी साधन प्रयोग गर्न अनुमतिपत्र दिँदा विदेशी नम्बर प्लेटको सवारी साधनलाई अनुमतिपत्र दिइने छैन ।