एजेन्सी । पोल्यान्डकी क्यारोलिना बिलावस्काले ‘मिस वर्ल्ड’ २०२१ को उपाधि जितेकी छिन् । ‘मिस वर्ल्ड’ को ७०औँ संस्करण बुधबार पुएर्तो रिकोको कोका–कोला म्युजिक हलमा सम्पन्न भएको थियो ।
‘मिस वर्ल्डु को आधिकारिक वेबसाइटका अनुसार बिलावस्कालाई २०२० की ‘मिस वर्ल्ड’ जमैकाकी टोनी–एन सिंहले ताज लगाइदिएकी थिइन् ।
‘मिस वर्ल्ड’ २०२१ को उपाधि जितेपछि बिलावस्काले भनिन्, ‘मेरो नाम सुनेर म छक्क परेँ । मलाई अझै पनि विश्वास लागेको छैन । मिस वर्ल्डको उपाधि पाउँदा गौरवान्वित भएकी छु ।’
प्रतियोगितामा अमेरिकाकी श्री सैनी दोस्रो र आइभरी कोस्टकी ओलिभिया येस तेस्रो भए ।
२२ वर्षीया क्यारोलिना व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययनरत हुन् । मोडल समेत रहेकी उनी पौडी, स्कुवा डाइभिङ, टेनिस र ब्याडमिन्टन खेल्न रुचाउँछिन् ।
पोल्याण्डले यो उपाधि दोस्रोपटक जितेको हो । यसअघि सन् १९८९ मा एनेता क्रेगलिकाले ‘मिस वर्ल्ड’को उपाधि जितेकी थिइन् ।
‘मिस वर्ल्ड’ २०२१ को १६ डिसेम्बर २०२१ मा आयोजना हुने भनिएको थियो तर त्यतिखेर १७ जना प्रतियोगीमा कोरोना भाइरसको संक्रमण देखिएपछि स्थगित गरिएको थियो ।
मिस नेपाल नम्रता श्रेष्ठ भने अन्तिम ३० मा छानिएकी थिइन् । प्रतियोगिता १०० भन्दा बढी देशहरूमा प्रसारण गरिएको थियो ।