काठमाडौं । भिजिट भिसा प्रकरणमा विपक्षी दलहरू विभाजित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक्लिएको छ । सत्तारुढ नेपाली कांग्रेस, नेकपा (एमाले) ले छानबिनको प्रतिबद्धता जनाएपछि प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सदन खोल्न सहमत भएको छ ।

गृहमन्त्री रमेश लेखकको राजीनामाको मागबाट रास्वपा पनि पछि हट्यो । तर, छानबिन समिति बनाउनुपर्ने अडानमै रहँदा प्रतिनिधिसभाको बैठक चल्न सकेको छैन ।

सदनमा मात्र होइन, रास्वपा संसदीय समितिमा पनि एक्लिएको छ ।

सदनमा साथ दिएका दलका सांसदले समितिमा भने साथ दिएनन् । शुक्रबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रास्वपाका गणेश पराजुलीले भिजिट भिसा प्रकरणमा सांसदहरू निरीह भएको टिप्पणी गरेपछि बैठकमा भनाभन भयो ।

भिजिट भिसा प्रकरणमा संसद अवरोध गरिरहेका दल माओवादी र नेकपा (एकीकृत समाजवादी)का सांसद आक्रोशित बने । पराजुलीमाथि नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादीका सांसद खनिएका थिए ।

युएइमा वैदेशिक रोजगारीका लागि घरेलु कामदार पठाउने सम्भावनाका विषयमा छलफल गर्न बैठक राखिएको थियो । पराजुली राज्यको मिलेमतोमा अध्यागनमबाट मानव बेच्ने प्रपञ्चमा छानबिन गर्न समिति वा आयोग बनाउन सत्ता तयार नभएको जिकिर गर्दै आपत्ति जनाएका थिए ।

उनले सांसदहरू निरीह भएको आरोप लगाए । “माननीयज्यूहरूले एकपटक छातिमा हात राखेर भन्नुस् । यो मुद्दा के राष्ट्रिय स्वतन्त्र पार्टीको मात्रै हो र ?,” उनले भने ।

त्यसपछि कांग्रेस सांसद राजु थापाले भिजिट भिसा प्रकरणमा अख्यितार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको जवाफ दिए । “छानबिन भइरहेको छ त । सम्बन्धित निकायले छानबिन गरिरहेको छ । तपाईंले भनेर हुन्छ ? तपाइँ विषयमा आउनुस् । अख्तियारले छानबिन गरिरहेको छ ,” उनले भने ।

उनले सभापति अख्दुल खानसँग पराजुलीलाई रोक्न दबाब दिए । थापाले भने, “गृहमन्त्रीबाट मान्छे बेचिएको छ ? विषयवस्तुमा आउनुस् न तपाईं । सभापतिज्यू रुलिङ गर्नुस् । विषयवस्तुमा आउनुस् ।”

त्यसपछि सभापतिले कार्यसूचीमा बोल्न आग्रह गरे । “आजको कार्यसूचीमा रहेर धारणा गर्नुस् । समय धेरै छैन । अर्को विषयवस्तु छ । निर्धारित विषयमा राखेर कुरा राख्नुस्,” उनले भने ।

रास्वपा सांसद पराजुलीले आफ्नो समयमा धारणा राख्दा अरु सांसदलाई आपत्ति किन भन्दै प्रश्न गरे ।

थापाले ‘निरीह’ भएको भन्ने कुरा रेकर्डबाट हटाउन माग गरे । “तपाईंले हामीलाई निरीह सांसद कसरी भन्नुभयो ? निरीह सांसद भन्न मिल्छ ? रेकर्डबाट हटाइयोस्,” थापाले भने ।

त्यसपछि एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले रास्वपा मात्रै ठेकेदार हो भनी जंगिए । “रास्वपा मात्रै ठेकेदार हो ? हामीले पनि विरोध गरेका छौं । संसदमा हामी पनि उठेका छौँ । तपार्ईंले मात्रै विरोध गरेको छ ?,” उनले सोधे ।

उनले रास्वपा मात्रै ठेकेदार हो भन्ने प्रश्न दोहोर्याए ।

माओवादीका सांसद सूर्यमान तामाङ (दोङ)ले पराजुलीले धेरै समय लिएकामा आपत्ति जनाए । “हेलो माननीयज्यूहरू, यो कार्यक्रम के गणेश पराजुली माननीयको मात्रै हो ?,” दोङले भने, “समय उहाँको मात्रै हुन्छ ? उहाँहरूले जति बेमान कसले गर्या छ, भनौं ?”

सभापति खानले दोङलाई रोकिन आग्रह गरे ।

उता, एकीकृत समाजवादीका सांसद श्रेष्ठले पनि ‘निरीह’ भनेकामा आपत्ति जनाए । “हामीलाई पीडा छैन ? हाम्रो अध्यक्ष भ्रष्टाचारमा मुद्दा परेर निलम्बन हुनुभएको छ । उहाँ (पराजुली)को अध्यक्ष जेलमा छ, अनि निरीह भनेर यहाँ भन्न पाइन्छ ?” उनको प्रश्न छ ।

त्यसमा पराजुलीले उच्चस्तरीय छानबिन समिति बनाउन तयार हुनुस् न भन्दै आफ्नो अभिव्यक्ति अघि बढाए । “रास्वपा मात्रै ठेकेदार हो ? हामी उभिएको छैन सदनमा ?,” श्रेष्ठले फेरि सोधे, “मिडियाको अघि जे पनि बोल्ने ? ”

एक–अर्काबीच सवाल–जवाफ चलिरहेपछि सभापति खानले सबै सांसदलाई चुप लाग्न निर्देशन दिए । उनले पराजुलीको अभिव्यक्तिमा समिति बनाउने बताए । “माननीय गणेश पराजुलीजीले धारणा राख्दै गर्दा केही कुराहरूमा माननीयज्यूहरूको आपत्ति भयो । आजको विषयभन्दा बाहिर गयो । त्यसकारण यस विषयमा अब हामीले यो समितिमा एउटा छानबिन समिति गठन गरेर उहाँ (पराजुल)को विषयवस्तुमा पुनः हामी विचार गर्नेछौ भन्ने कुरा म राख्छु । तपाईं अब एक मिनेटमा चाहिँ आफ्नो विषयवस्तुमा कुरा राख्नुस् ,” उनले पराजुलीलाई भने ।

त्यसपछि माओवादीका सांसद दोङ आक्रोशित भए । “हेलो सभापतिज्यू ? के को छानबिन समिति ? के हो ?’’

बैठकका अरु केही सांसहरूले पनि छानबिन समितिप्रति आपत्ति जनाए ।

पराजुलीले पनि के को छानबिन समितिको कुरा गरेको प्रश्न गरे । पराजुलीले भने, “सभापतिजीले बोलेको कुरामा मेरो गम्भीर आपत्ति छ, कुन विषयमा तपाईं छानबिन समिति बनाउने कुरा गर्दै हुनुहुन्छ ? तपाईँ मानव बेचविखनविरुद्धको विषयमा छानबिन समिति बनाउन तयार हो कि मैले बोलेको बषयमा छानबिन समिति बनाउने ? तपाईंबाहेक सभापति अरु पनि हुन् ?”

सभापति खानले बढी नबोल्न चेतवानी दिए । उनले सदनको विषय समितिमा राखेको र बैठकको ऐजेन्डामा कुरा नराखेको बताए । सभापतिले चेतावनीयुक्त भाषामा भने, “माननीय गणेश पराजुलीज्यू, तपाईँ बढी नबोल्नुस् ।’’

त्यसपछि सभापति खानले भने, ‘‘तपाईँले आफ्नो कुरा राख्दै गर्दा तपाईले यहाँ पार्टीगत कुराहरू राख्नुहुन्न, यो विषयमा तपाईले सदनमा प्रतिपक्ष सबै दलका माननीयज्यूहरूले सदनमा आफ्नो कुरा उठाइराख्नु भो छ त्यहाँ छानबिन समिति गठनको माग गरिराख्नु भएको छ । त्यो सदनको कुरा होला । हामीले यहाँ आज निश्चित निर्धारित विषयवस्तुहरूमा कुराकानी मात्रै गरिरहे छौँ । यो विषयमा हामी के गर्ने के नगर्ने के गर्दा उचित हुन्छ के अनुचित

हुन्छ भन्ने कुरा हामी गरिरहको छौँ । यस विषयमा हामीले उप समितिमा छलफल गरौँला ।”

उनले विषयवस्तुमा केन्द्रित हुँदै धारणा राख्न आग्रह गरे ।

तर, सभापतिले बोलेको कुरा फिर्ता नलिए नबोल्ने अडान रास्वपा सांसद पराजुलीले लिए । सभापतिले भने पराजुलीले आपत्तिजनक विषय राखेको बताए । उता पराजुलीको प्रश्न रह्यो, “नेपाली जनता प्रत्येक दिन बेचिएका छन्, भन्दा आपत्ति भयो ?,”

सांसदहरूको हल्ला–खल्लामै समितिको सकियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय