काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती विधेयकमा भएको चलखेलबारे गम्भीर रुपमा छानबिन हुुनपर्ने अवस्था आएको बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । समितिबाट संसदमा जाने क्रममा कहीँ न कहीँ चलखेल भएको बताउँदै उनले त्यसमा गम्भीर हुुनपर्ने बताए ।

‘सदनमा जाँदा त्यहाँ कहीँ न कहीँ चलखेल गरेको देखिएको छ । त्यसको बारेमा गम्भीर रुपमा छानबिन हुनुपर्ने, कारबाही हुनुपर्ने अवस्था आइलागेको छ,’ अध्यक्ष प्रचण्डले भने ।

कर्मचारीतन्त्र भित्र एउटा पक्ष यो विधेयक ल्याउन नदिन पहिल्यैदेखि लागेको भन्दै उनले अहिले पनि त्यस्तै भएको हुनसक्ने बताए ।

‘कर्मचारीतन्त्रभित्र एउटा पक्ष संघीय निजामती ऐन यो रुपमा नआओस् भन्न चाहन्थ्यो । कहीँ त्यहीँ नै चलखेल भयो कि भन्ने प्रश्न पनि उठेको छ,’ प्रचण्डले भने, ‘अहिले मैले कसैलाई ताकेर आरोप लगाउन सक्ने स्थिति छैन । यो समग्र प्रक्रियामा कहाँबाट चलखेल भएको हो गम्भीर छानबिन हुनुपर्‍यो । दोषीमाथि कडा कारबाही हुनुपर्‍यो ।’

कतिपय सांसदले गम्भीर रुपमा संसदीय छानबिन समिति चाहिन्छ भनेको भए पनि राजनीतिक तहमा आफूले छलफल गर्ने प्रचण्डले बताए ।

‘यो कुरा गम्भीर छ । कतिपय माननीयले संसदीय छानबिन समिति नै बनाउनुपर्छ भनिरहनुभएको छ,’ प्रचण्डले भने, ‘मैले पनि गम्भीर रुपमा लिएको छु । राजनीतिक तहसम्म छलफल गर्नुपर्ने मैले बुझेको छु ।’

 

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय