
महाभारत, काभ्रे । अहिले सम्म पनि फाइबार इन्टरनेटको सुविधाबाट बञ्चित रहेको महाभारत गाउँपालिकामा इन्टरनेट जडान गर्ने गाउँपालिका र इन्टरनेट प्रदायक बिच सम्झौता भएको छ ।
शुक्रबार गाउँपालिकाको कार्यालय देविटारमा महाभारत गाउँपालिका र इन्टरनेट प्रदायक सजिलो नेट प्रा. लि. बिच अबको ६ महिना भित्रमा सबै मुख्य मुख्य बस्तिहरुमा इन्टरनेट पुर्याउने सहमति भएको हो । महाभारत गाउँपालिका र ईन्टरनेट प्रदायक संस्था (सजिलो नेटवर्क प्रा.लि.) बिच पालिकाभरका सरकारी कार्यलय,बिद्यालयहरु र घरघर मै सर्वसुलभ ईन्टरनेट सुविधा लिन सकिने गरि दुइपक्षीय सहमती भएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिएका हुन ।


गाउँपालिकाको तर्फबाट अध्यक्ष कान्छालाल जिम्बा, प्रमुख प्रशासकीय अधिकृत राम बहादुर तामाङ, वडा नं. १ का वडा अध्यक्ष कान्छामान जिम्बा वडा नं. ६ का अध्यक्ष रमेश कुमार लुङ्गेली र योजना शाखाका दिनेश बस्नेत र सजिलो नेटवर्क प्रा.लि.को तर्फबाट सि.इ.ओ. विकास मुडवारी र रोहित थापा मगरले सहमतिमा हस्ताक्षर गरेको छन् ।
यस्तो छ सहमतिः
● कम्पनीले गाउँ कार्यपालिकाको कार्यालयमा ५०० एम वि पि एस तत्कालै इन्टरनेट जडान गर्ने
● पालिकाका वडा कार्यालयहरुमा १०० एम वि पि एस को इन्टरनेट ३ महिना भित्र जडान गर्ने
● स्वास्थ्य संस्थाहरुमा ५० एम वि पि एस को इन्टरनेट जडान गर्ने
● ५०० एम वी पि एस इन्टरनेटको वार्षिक शुल्क रु ९०,०००, २०० एम वी पि एस इन्टरनेटको वार्षिक शुल्क रु ६४,८००, १०० एम वी पि एस इन्टरनेटको वार्षिक शुल्क रु ४०,८००, ५० एम वी पि एस इन्टरनेटको वार्षिक शुल्क रु २०,४०० तत् तत् निकाय तथा वडा कार्यालयको अनुगमन प्रतिवेदन तथा भुक्तानी सिफारिसको आधारमा पहिलो पक्षले दोस्रो पक्षलाई प्रत्येक ३ । ३ महिनामा भुक्तानी गर्नेछ ।
● विद्यालयहरुमा ६ महिनाभित्र जडान गर्ने गरी मा वि हरु मा १०० एम वि पि एस इन्टरनेटको वार्षिक रु २०,००० आ वि मा ७५ एम वि पि एसको इन्टरनेट वार्षिक रु १५,००० र प्रा वि मा ५० एम वि पि एस को इन्टरनेट वार्षिक रु १२,००० को दरले कम्पनीले इन्टरनेट शुल्क लिने गरी सहुलियत दरमा इन्टरनेट सेवा उपलब्ध गराउने ।
● १ वर्षसम्म इन्टरनेटमा केही समस्या आएमा कम्पनी जवाफदेही बनी तत्कालै मर्मत गरिदिनुपर्ने
● इन्टरनेट कम्पनीले महाभारत गाउँपालिकाका हरेक गाउँवस्तीमा ६ महिना भित्र सहुलियत दरमा इन्टरनेट विस्तारको कार्यलाई तिव्रताका साथ अगाडि बढाउने र त्यसको लागि आवश्यक सहजीकरण गाउँपालिकाले गर्ने।
● इन्टरनेट जडान तथा सो सँग सम्बन्धित उपकरण तार समेतको लागि रु २०,००० पहिलो पक्षले दोस्रो पक्षले तिर्ने ।
● यस करारनामामा लेखिएका कुराहरु करार ऐन तथा अन्य प्रचलित नेपाल कानुन बमोजिम हुनेछ ।
● यो करारको अवधी मिति २०८२/०३/१९ गते देखि २०८३/ ०३ / ३० गते सम्म हुनेछ ।
● माथि उल्लेखित रकममा टिएस्सी र मु.अ.क. समावेश गरिएको छ ।
● इन्टरनेट जडान सम्बन्धी विषयहरु यही सम्झौता बमोजिम तथा अन्य विषयहरु प्रचलित कानुन बमोजिम हुनेछ ।