मकवानपुर । बागमती प्रदेशमा सरकार परिवर्तन भएको आठ दिन पूरा भएको छ । गत साता बुधबार एकाएक डोरमणि पौडेलले सत्ता हस्तान्तरण गरे । उनको राजीनामालाई पार्टी एकता जोगाउनका लागि अतुलनीय योगदानका रुपमा व्याख्या गरिए पनि पार्टी विभाजन प्रक्रिया रोकिएन ।
पौडेलले राजीनामा दिएकै दिन उनले नेकपा एमालेकै नेतृ अष्टलक्ष्मी शाक्यलाई पार्टीको संसदीय दलको नेतामा सर्वसम्मत चयन गराए । सोही आधारमा शाक्यले मुख्यमन्त्री पद सम्हाल्न पाइन् ।
बागमती प्रदेशका तत्कालीन प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले राति करिब ९ः३० बजे अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री नियुक्त गरे । शाक्य नेपालको संविधानको धारा १६८ ९१० बमोजिम मुख्यमन्त्री नियुक्त भएकी हुन् । सोही दिन मुख्यमन्त्रीसहित नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिए ।
मुख्यमन्त्रीको शपथ ग्रहणपछि शाक्यले पत्रकारहरुसँग कुरा गर्दै आफूले नेकपा एमालेको तर्फबाट सबैको साथ पाएर नै सरकारको नेतृत्व सम्हाल्ने अवसर प्राप्त गरेको अभिव्यक्ति दिइन् । नेकपा एमाले विभाजनपछि नयाँ दलका रुपमा नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका माधवकुमार नेपालले पनि मंगलबार बागमती प्रदेशको मुख्यमन्त्री शाक्य आफ्नो समेत सहमतिमा मुख्यमन्त्री बनेको बताए ।
लामो समय माधवकुमार नेपाललाई साथ दिएकी शाक्य अहिले एमालेमै छिन् भने माधवकुमार नेपालले अलग दल दर्ता गराइसकेको अवस्था छ । राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार विभाजन प्रक्रियाबाट दल दर्ता भएको तीन साताभित्र प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिले आफू कुन दलमा रहने भन्ने निर्णय लिइसक्नु पर्नेछ ।