तेमाल, काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तेमाल गाउँपालिका कमिटीले पार्टीका पूर्व सचिव तथा २०७४ सालको स्थानीय तहको निर्वाचनमा तेमाल–८ बाट पार्टीको तर्फबाट जननिर्वाचित पूर्व वडाध्यक्ष तेमाल–८, योगार (टेकानपुर) निवासी लक्ष्मीबहादुर घिसिङको निधनमा शोक व्यक्त गरेको छ । घिसिङ असार ३० गते राती ९ः३० बजेको समयमा ६४ वर्षको उमेरमा निधन भएको थियो ।
पार्टीका गाउँपालिका अध्यक्ष डिलबहादुर थोकर (ग्याम्जो)ले एक शोक वक्तव्य जारी गर्दै घिसिङको निधनले पार्टीले एक क्रान्तिकारी, निष्ठावान, स्वाभिमानी र समर्पित योद्धा गुमाएका बताए । “घिसिङको निधनले हाम्रो सिङ्गो पार्टी मर्माहत भएको छ । यस शोकको घडीमा हाम्रो पार्टी दिवंगत कमरेड लक्ष्मीबहादुर घिसिङ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ, वक्तव्यमा भनिएको छ ।”


बुबा औलतसिं घिसिङ र आमा सोमारानी तामाङको कोखबाट २०१८ साल कार्तिकमा काभ्रेपलाञ्चोक जिल्ला तेमाल गाउँपालिका वडा नं. ८ (साविक मेच्छे गाविस वडा नं. ६, टेकानपुर)मा माइलो छोराको रुपमा कमरेड लक्ष्मीबहादुर घिसिङको जन्म भएको थियो । पञ्चायतकालदेखिन नै राजनीतिमा सक्रिय रहँदै आउनुभएका उहाँ २०४३ सालको गाउँपञ्चायत निर्वाचनमा जनपक्षिय उम्मेदवारको रुपमा मेच्छे गाउँपञ्चायतको अध्यक्षको उम्मेदवार बन्नु भएको थियो ।

२०५७ सालदेखि नै नेकपा (माओवादी)मा संलग्न हुनुभएका उहाँले १० वर्षे जनयुद्धमा समेत महत्वपूर्ण योगदान दिनुभएको थियो । उहाँले २०६२ सालमा नेकपा (माओवादी)को पार्टी संगठित सदस्यता लिनुभएको थियो । उहाँ राजनीतिक सँगसँगै जनसेवा र समाजसेवा अगुवा नेताको रुपमा तेमालमा स्थापित हुनुहुन्थ्यो । नेकपा (माओवादी केन्द्र)को तेमाल गाउँपालिका वडा नं. ८ को अध्यक्ष हुँदै उहाँ तेमाल गाउँपालिका कमिटीको सचिव समेत हुनुभयो । २०७४ सालको स्थानीय तह निर्वाचनमा उहाँ नेकपा (माओवादी केद्र)को तर्फबाट वडा अध्यक्षको उम्मेदवार हुनुभयो र अत्यधिक मतले विवजी हुनुभयो । त्यसैगरी २०७९ सालको स्थानीय तह निर्वाचनमा पनि उहाँ पार्टीको तर्फबाट वडा अध्यक्ष पदको उम्मेदवार बन्नुभयो र झिनो मतले उहाँ परायजित हुनुभयो ।
घिसिङ लामो समयदेखि मुटुरोगबाट पिडित हुनुहुन्थ्यो ।











