
काठमाडौं । सरकारले जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दार्चुलामा तुइनको तार चुडिएपछि बेपत्ता भएका भएका आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानबहादुर कार्कीले जानकारी दिए।
बिहीबारै राज्य व्यवस्था समितिले दार्चुला तुइन घटनाबारेको छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको थियो। सिंहदरबारमा बसेको बैठकले दार्चुला घटनाको सत्यतथ्य छिटो सार्वजनिक गरी दोषीलाई कानुनी कारबाहीको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो। समितिले पीडितलाई क्षतिपूर्ति दिनसमेत निर्देशन गरेको थियो।


गत साउन १५ गते महाकाली नदी पार गर्नका लागि तुइन तर्ने क्रममा खसेर दार्चुलाको व्यास गाउँपालिका- २ का धामी भारतीय एसएसबीले तुइन खोलि दिएपछि बेपत्ता भएका थिए। उक्त घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको थियो।
सरकारले हैजा खोप र एमआरएलए भ्याक्सिनको क्लिनिकल ट्रायल गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ। नेपाल कानून आयोगको अध्यक्षमा पूर्वमुख्यन्यायाधीश जागेश्वर सुवेदी, राष्ट्रिय योजना आयोगको सदस्यमा पुष्परमण वाग्ले र सोलनी प्रधान सिंहलाई नियुक्त गर्ने निर्णय गरेको कार्कीले जानकारी दिए।
सरकारले विद्युत प्राधिकरणको मैनादिया–सम्पतिया १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत केन्द्र रेखाबाट नौ मिटर दायाँ–बायाँमा पर्ने निजी जग्गा र संरचनाहरूको क्षतिपूर्ति निर्धारण गर्न गठित समितिमा अध्यक्ष र सदस्य तोकेको छ।