काठमाडौं । २०७८ साउन १० विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा समर्पित अग्रज सञ्चारकर्मी नवराज बजगाईलाई ग्लोबल स्टार अवार्ड–२०२५ अन्तर्गत ‘उत्कृष्ट शव्द रचना’ अवार्डसहित विशेष सम्मान प्रदान गरिएको छ।
शनिवार नेपाल पुलीस क्लब, काठमाडौंमा आयोजित भव्य कार्यक्रम ‘मिसेस ब्युटिफुल नेपाल’को नवौं र ‘मिस ब्युटिफुल नेपाल’को दशौं संस्करणको ग्राण्ड फिनालेको अवसरमा सञ्चारकर्मी बजगाईलाई सामाजिक परिवर्तनमा पुर्याएको योगदान र शव्द सिर्जनाको क्षेत्रमा देखाएको प्रतिभाका आधारमा सम्मानित गरिएको हो।


कार्यक्रम ग्लोबल स्टार अवार्ड–२०२५, दक्ष ईन्टरनेशनल, र राज ब्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको संयुक्त आयोजनामा सम्पन्न भएको थियो।
‘नव क्षितिज साप्ताहिक’ को रजत गीतबाट सम्मान
बजगाईले शव्द सिर्जना गरेको “सुशासनका लागि” शीर्षकको रजत गीतलाई ग्लोबल स्टार अवार्ड–२०२५ तर्फबाट उत्कृष्ट शव्द रचनाको मान्यता दिँदै अवार्ड प्रदान गरिएको हो।
उक्त गीतमा बजगाईले सामाजिक यथार्थ र जनभावनालाई मार्मिक रुपमा प्रस्तुत गरेका छन्। पत्रकारितासँगै साहित्य, कला र समाजसेवामा पनि उनको सक्रियता छ भन्ने कुरालाई समेत सम्मानित गरिएको छ।

विशिष्ट व्यक्तिहरूको उपस्थिति र सम्मान
समारोहमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, कार्यक्रम निर्देशक टेकराज पाण्डे, राष्ट्रिय सभा सदस्य विष्णु कुमारी सापकोटा, पूर्व मन्त्री दीपेन्द्र श्रेष्ठ, सांसद चन्द्र भण्डारी, तथा बरिष्ठ कलाकार रमेश उप्रेती, मोहन निरौला र रमेश बुढाथोकी लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
बजगाईलाई Best Lyricist Award प्रदान गर्दै उपस्थित विशिष्ट अतिथिहरूले उनको योगदानको प्रशंसा गरे।
अवार्ड ग्रहणपछि सञ्चारकर्मी बजगाईले भावुक हुँदै भने:
“पत्रकारिताबाटै सामाजिक परिवर्तन सम्भव छ भन्ने दृढ विश्वासका साथ लागेको छु। मेरो गीतले यस्तो सम्मान पाउँदा सिर्जनशीलतामा झन् हौसला मिलेको छ।”
नवराज बजगाई प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य, प्रेस चौतारी काभ्रे र अनलाइन मिडिया सञ्जालका सल्लाहकार, पत्रकार महासंघ काभ्रेका पूर्व उपाध्यक्ष, साथै नव क्षितिज साप्ताहिक र राम्रो सन्देश डट कमका प्रकाशक तथा प्रधान सम्पादक हुन्।
उनी काभ्रेपलाञ्चोक जिल्लाको तत्कालीन नयागाउँ गा.वि.स.–७ (हाल मण्डनदेउपुर–४) निवासी हुन् र काभ्रेमा रहेर सक्रिय पत्रकारिता, साहित्य, समाजसेवा र कलाकारितामा निरन्तर लागिरहेका छन्। यसअघि पनि उनले विभिन्न संघसंस्थाबाट पत्रकारिता तथा समाजसेवामा पुर्याएको योगदानको कदर स्वरूप थुप्रै सम्मान तथा पुरस्कार प्राप्त गरिसकेका छन्।











