काभ्रे । जिल्लाको बनेपाको चारदोबाटोमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका भद्री संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल) नेपाल र अखिल नेपाल विद्यार्थी संगठनको संयुक्त आयोजनामा संविधान दिवसको अवसरमा शुक्रबार साँझ दीप प्रज्वलन गरी भव्य कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व ऊर्जा राज्यमन्त्री सुर्यमान दोङ (लालध्वज) को प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो। प्रमुख अतिथिले संविधान दिवसलाई ऐतिहासिक दिनका रूपमा स्मरण गर्दै वर्तमान संविधानले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ यात्रामा अघि बढाएको उल्लेख गर्नुभयो।


कार्यक्रममा नेकपा माओवादी केन्द्रका सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज तेजबहादुर मिजार, पूर्व माननीय गंगाबहादुर दोङ, माननीय रुकु चौलागाईं लगायत विभिन्न पार्टीका पदाधिकारी, विद्यार्थी नेता तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
यस अवसरमा सुर्यमान दोङले महान जनयुद्धका सहिद, जनआन्दोलन र जेन्जी आन्दोलनमा ज्यान गुमाउने वीर सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइते योद्धाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो।
संविधान दिवसलाई जनस्तरमा दीप प्रज्वलनमार्फत मनाइएको यस कार्यक्रमले नेपाली जनताको बलिदान र संघर्षप्रतिको सम्मान झल्काउँछ। यस्ता अवसरहरूले संविधानको महत्वलाई सम्झाउने मात्र होइन, भावी पुस्तामा लोकतान्त्रिक मूल्य र सामाजिक न्यायप्रतिको प्रतिबद्धता बढाउने काम गर्ने अपेक्षा गरिएको छ।










