काठमाडौं । अर्बौं बाँकी बिजुलीको बक्यौता उठाउन नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठक डाक्ने तयारी गरिएको छ ।
कुलमान घिसिङले ऊर्जामन्त्रीको कार्यभार सम्हाल्दै गर्दा बिजुलीको बक्यौता उठाउनेसम्बन्धी पहिलो निर्णय गरेका थिए । सोही निर्णयलाई कार्यान्वयनमा लैजान चाँडै बोर्ड बैठक डाक्ने तयारी गरिएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।


उनका अनुसार, सोमबार/मंगलबार (असोज ६/७) नै बैठक बसेर बिजुलीको बक्यौता उठाउन चाल्ने कदमबारे निर्णय लिइनेछ । सोहीअनुसार कार्यान्वयनमा लगिनेछ । शाक्यले सरकारको निर्णय मानेरै बक्यौता उठाउन लाग्ने समेत बताए ।
“बक्यौतासम्बन्धी जुन मन्त्रीज्यूको निर्णय छ, यसलाई हामीले कार्यान्वयन गर्छौं । विद्युत् प्राधिकरणको मन्त्रीज्यू नै अध्यक्ष हुने व्यवस्था छ,” उनले भने, “बोर्डले निर्णय गर्नासाथ बक्यौता उठाउन लाग्छौँ । बक्यौताका विषयमा हामीले बोर्डबाटै निर्णय गर्छौैं ।”
बोर्ड बैठकबाट निर्णय गरिएपछि बक्यौता उठाउन कुनै समस्या नहुने उनले बताए ।
घिसिङ प्राधिकरणका कार्यकारी निर्देशक रहेका बेला पटक–पटक विद्युत् बक्यौता उठाउन प्रयास गरेका थिए । उनले त्यति बेला बक्यौता तिर्न बाँकी रहेका उद्योगीको लाइन समेत काटेका थिए ।
तर, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र त्यसपछि केपी शर्मा ओली प्रधानमन्त्री बनेका बेला बिजुलीको लाइन काट्दा जोड्न निर्देशन दिएका थिए ।
प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको महसुल बुझाउन धेरैपटक उद्योगी, व्यवसायीलाई दबाब दिइसकेको छ । प्राधिकरणले उद्योग र अरू सार्वजनिक क्षेत्रले डेडिकेटेड तथा ट्रंकलाइनमार्फत लिएको विद्युत्को जरिवानासहित करिब २५ अर्ब रुपैयाँ उठाउनुपर्ने जनाएको छ ।
उद्योगीलाई लोडसेडिङका समयमा २४ घण्टा नै विद्युत् प्रयोग दिइएको थियो । तर, उद्योगले प्रयोग नगरेको बिजुलीको समेत बिल आएको भनेर उद्योगीले नतिर्ने बताउँदै आएका छन् । न्युज एजेन्सी नेपाल










