चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनै तहको निर्वाचनसम्म गठबन्धन जारी रहने बताएका छन् ।
बिहीबार माडी नगरपालिका–९ राईडाँडामा कुसुमखोलाबाट विस्थापित चेपाङहरुका लागि बनाइएको कुसुमखोला नमूना चेपाङ बस्तीको उद्घाटन गर्दै अध्यक्ष दाहालले आन्तरिक शक्ति बलियो बनाउन लाग्नुपर्नेमा जोड दिए । आगामी निर्वाचनमा पार्टीलाई बलियो सावित गर्न गाउँ तहमा सङ्गठन बलियो बनाउनुपर्नेमा उनको जोड थियो ।
अध्यक्ष दाहालले सो चेपाङ बस्तीलाई सहकारीको माध्यामबाट आत्मनिर्भर बनाउन लागिपर्ने प्रतिवद्धता जनाउएका छन् । उनले सो बस्ती उद्घाटन गर्ने अवसर आफूलाई प्राप्त भएकोमा खुशी व्यक्त गर्दै त्यस वरपरका ठाडो खोलाहरुको तटबन्ध निर्माणका लागि पनि आफूले सकेको सहयोग गर्ने आश्वासन दिए ।
कुसुमखोला, भालुखोला र अन्य भित्री चेपाङ बस्तीहरुबाट विस्थापित र स्थानान्तरित भई आएका चेपाङहरुको निम्ति सो स्थानमा निर्वाचन क्षेत्र विकास कोषबाट नमूना चेपाङ बस्ती कार्यक्रम अनुसार ४१ घर परिवारको आवास निर्माणको काम पूरा भएको हो । संसद् विकास कोष, माडी नगरपालिका र दाताहरूको सहयोगमा ती घर निर्माण गरिएका हुन् ।