काठमाडौँ । कृत्रिम खुट्टाको सहायताले सातै महाद्वीपका सात अग्ला शिखरको आरोहणको यात्रामा रहेका नेपाली कीर्तिमानी आरोही तथा पूर्व गोर्खा सैनिक हरि बुढामगरले छैटौँ शिखर कार्स्टेन्स पिरामिड (पुन्काक जया) को सफल आरोहण गरेका छन्।

अक्टोबर १८ तारिख बिहान ७ बजे ओसिनियाको सबैभन्दा अग्लो यो शिखरमा पुगेर उनले कृत्रिम खुट्टाको सहायताले यो हिमाल चढ्ने पहिलो व्यक्तिको कीर्तिमान बनाएका छन्। सेभेन समिट अभियान अन्तर्गत विश्वका सातै महाद्वीपका अग्ला शिखर चढ्ने उनको यात्रामा यो छैटौँ सफलता हो। उनले कार्स्टेन्स पिरामिडलाई सात शिखरमध्ये सबैभन्दा प्राविधिक रूपमा चुनौतीपूर्ण रहेको बताए।

बुढामगरले हालसम्म मोन्ट ब्लांक, माउन्ट किलिमन्जारो, माउन्ट एभरेस्ट, डेनाली, एकोनकागुवा र कार्स्टेन्स पिरामिड (४,८८४ मि.) को आरोहण गरिसकेका छन्।

सन् २०१० मा अफगानिस्तान युद्धमा दुवै खुट्टा गुमाएका बुढामगरले कृत्रिम खुट्टाको सहायताले आफ्नो साहसिक यात्रालाई निरन्तरता दिँदै मानवीय सामर्थ्यको एक अद्वितीय उदाहरण प्रस्तुत गरेका छन्।

उनले आफ्नो सफलताका लागि सबै सहयोगीलाई धन्यवाद दिँदै ‘हामी साथ रह्यौँ भने असम्भव भन्ने केही पनि छैन’ भन्ने प्रेरणा दिएका छन्। अब उनी आफ्नो अन्तिम लक्ष्य अन्टार्कटिकाको माउन्ट भिन्सन (४,८९२ मि.) आरोहणका लागि आगामी डिसेम्बरमा प्रस्थान गर्दैछन् र थप सहयोगको अपेक्षा राखेका छन्।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय