काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको १३ स्थानीय तह मध्ये महाभारत गाउँपालिका स्वास्थ्य सेवामा उत्कृष्ट घोषित भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेले गरेको आर्थिक वर्ष २०८१/०८२ को सम्पादित स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षाका आधारमा महाभारत गाउँपालिका उत्कृष्ट भएको हो ।
जनस्वास्थ्य कार्यालय काभ्रेले स्थानीय तहमा स्वास्थ्य सेवा प्रदान गरिरहेका स्वास्थ्य शाखाहरुको सेवा प्रवाहको सूचकांकका आधारमा गरेको मुल्यांकनमा लगातार महाभारत गाउँपालिकाले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।


अघिल्लो वर्ष पनि महाभारत गाउँपालिका स्वास्थ्य सेवा प्रवाहका विभिन्न सुचकहरु पुरा गर्ने जिल्लामा पहिलो पालिका बनेको थियो । महाभारत गाउँपालिकाले ७८.५ प्रतिशत अंक ल्याएको छ । त्यस्तै सदरमुकाममा रहेको धुलिखेल नगरपालिका दोश्रो भएको छ । अधिकाश सुचकांकहरुमा प्राप्त नम्वरका आधारमा धुलिखेल दोश्रो भएको हो । विश्व स्वास्थ्य सगठनको मापदण्ड पुरा गरी धुलिखेल स्वस्थ शहर घोषणा भएको छ ।
त्यस्तै जिल्लाको भुम्लु गाउँपालिकाले तेश्रो हुने अवसर पाएको छ । स्वास्थ सेवा प्रवाहमा नागरिकहरुले प्राप्त गरेका विभिन्न सेवालाई आधार बनाएर मुल्यांकन गरिएको जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपति श्रेष्ठले बताईन् ।
उत्कृष्ट भएका पालिकाका स्वास्थ्य शाखाका प्रमुख तथा प्रतिनिधिहरुलाई जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपपति श्रेष्ठ लगायतले प्रमाणपत्र वितरण गरेका थिए ।










