काठमाडौँ । नेप्लिज बिजनेस डाइरेक्टरी युकेले नेपालका ‘जेनजी’ आन्दोलन पीडितहरूको सहयोगार्थ गो-फन्ड-मी मार्फत १४ हजार ६२४.६२ पाउन्ड (करिब २७ लाख रुपैयाँ) को राहत संकलन गरेको छ। बेलायतमा रहेका नेपाली समुदायको उदार मन र सहयोगका कारण यो अभियान सफल भएको भन्दै आयोजकले सबै दाताहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।

संकलित रकमको वितरण कार्य नेप्लिज बिजनेस डाइरेक्टरी र ‘वान क्लब नेपाल’ का सदस्यहरूको समन्वयमा भइरहेको बताइएको छ। पीडित र तिनका परिवारसम्म सही र समयमै राहत पुगोस् भन्ने उद्देश्यले नेपालमा खटिएका नेप्लिज बिजनेस डाइरेक्टरीका सदस्यहरू सनिष ज्वारचन, सुजिना महर्जन, सुदिना महर्जन र रोमन राईले सक्रिय भूमिका खेलिरहेका छन्।

उनीहरूले ‘हामी नेपाल’ का टोली सदस्यहरू रबिन मान डंगोल, श्लोक सुवाल र बिनित श्रेष्ठसँगको सहकार्यमा राहत वितरण कार्यलाई प्रभावकारी बताएका छन् ।

नेप्लिज बिजनेस डाइरेक्टरी र वान क्लब नेपालका सह–संस्थापकद्वय सनिष ज्वारचन र महेश बुढा मगरले बेलायत र नेपाल दुवै स्थानमा रहेका नेपालीहरूलाई आफ्ना व्यावसायिक पहलहरूमार्फत सहयोग पुर्‍याउँदै आएका छन्। ज्वारचनले भने, ‘विदेशमा बस्दैमा आफ्नो मातृभूमिप्रतिको हाम्रो जिम्मेवारी कम हुँदैन। जब–जब नेपाललाई हाम्रो आवश्यकता पर्छ, हामी सहयोगका लागि सधैं तत्पर छौं।’

बाँकी रहेको राहत रकमको वितरण र समन्वयका लागि सनिष ज्वारचन गत नोभेम्बर १० मा बेलायतबाट नेपाल आइपुगेका छन्। उनले भने, ‘नेपालमा रहेको हाम्रो टोलीले अहिलेसम्म उत्कृष्ट काम गरेको छ। म सुरुदेखि नै यहाँ उपस्थित हुन चाहन्थें तर पारिवारिक जिम्मेवारीले गर्दा केही ढिलाइ भयो। अब बाँकी रहेको कोष्को सदुपयोग र व्यवस्थापन सुचारु रूपमा सम्पन्न गर्न म आफैं यहाँ उपस्थित भएको छु।’

ज्वारचनका अनुसार हालसम्म २२ लाख रुपैयाँ भन्दा बढी रकम पीडितहरूलाई वितरण गरिसकिएको छ र बाँकी वितरणको काम अब अन्तिम चरणमा पुगेको छ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय