
काठमाडौं । आपसी सहकार्यका माध्यमबाट मुलुकभित्र आन्तरिक र बाह्य लगानी प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासङ्घ र लगानी बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
अर्थमन्त्री एवम् बोर्डका उपाध्यक्ष जनार्दन शर्माको उपस्थितिमा आइतबार भएको समझदारीपत्रमा महासङ्घका अध्यक्ष शेखर गोल्छा र बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार महासङ्घको सचिवालयमा प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सहायता कक्ष स्थापना गरिने छ । सहायता कक्षको सञ्चालनमा बोर्डका तर्फबाट प्राविधिक सहयोगका साथै सहायता कक्षको क्षमता अभिवृद्धि, सीप विकास र ज्ञानको आदानप्रदानमा सहयोग हुनेछ ।


समझदारीअनुसार महासङ्घले राष्ट्रको आवश्यकता अनुसारका लगानी परियोजनाको पहिचान, अन्तराष्ट्रियरुपमा आफनो माध्यममार्फत लगानीकर्ताको खोजी गर्ने कार्यमा बोर्डलाई सक्रियतापूर्वक सहयोग गर्नेछ । त्यसैगरी महासङ्घले स्वदेश तथा विदेशमा लगानीसम्बन्धी सडक प्रदर्शनका अतिरिक्त महत्वपूर्ण गतिविधि गर्नेछ ।
त्यसैगरी लगानी प्रवद्र्धनका दिशामा सार्वजनिक निजी साझेदारीको अवधारणाभित्र रही दुवै संस्था निरन्तर सहकार्य, लगानी सम्बन्धी ज्ञान, अनुुभव एवं सूचनाको आदानप्रदान, नीतिगत सुधारमा सहकार्य गर्ने छन् । यस्तै प्रत्यक्ष वैदेशिक लगानी एवम् अन्य लगानी प्रवद्र्धनका लागि राष्ट्रिय तथा अन्तराष्ट्रियरुपमा आयोजना हुने सभा, सम्मेलन, प्रर्दशनी, गोष्ठी, कार्यशाला, तालिमको आयोजनामा महासङ्घले बोर्डलाई प्रत्यक्ष सहयोग गर्नेछ ।
महासङ्घले लगानी प्रवद्र्धनका लागि तयार पार्ने दस्तावेजमा बोर्डले सहयोग गर्ने छ । त्यसैगरी दुवै संस्थाले लगानीसम्बन्धी तथ्याङ्क, प्रतिवेदन, संयुक्तरुपमा तयार पारिएका अन्य प्रतिवेदन, बाह्य लगानी आकर्षणमा देखा परेका चुनौती तथा अवसर र सार्वजनिक निजी साझेदारीमा लगानीसम्बन्धी नीति पैरवीलगायतमा सहयोग तथा सहकार्य आदान प्रदान गर्नेछन् ।
महासङ्घले लगानीका अवसरसम्बन्धी डाइरेक्टरीको तयारीमा पनि सहयोग गर्नेछ । त्यसैगरी दुवै संस्थाले सबै प्रकारका लगानी, परियोजना विकासलगायतमा संयुक्तरुपमा अध्ययन अनुसन्धानमा समेत सहकार्य गर्नेछ ।
कार्यक्रममा बोर्डका उपाध्यक्ष एवम् अर्थमन्त्री शर्माले मुलुकभित्र आन्तरिक एवं बाह्य लगानी प्रवद्र्धनका लागि बोर्ड तथा महासङ्घबीचको समझदारी एउटा अनुपम उदाहरण भएको र समझदारीमा उल्लेख गरिएका सहमतिका दफालाई दुवै संस्थाले अधिकतम सफल पार्नेमा आफू पूर्ण विश्वस्त रहेको बताए ।
सहमतिबाट सिङ्गो राष्ट्र नै लाभान्वित हुने उल्लेख गर्दै उनले सरकारले आन्तरिक एवं बाह्य सबै प्रकारको लगानी आकर्षणमा विशेष जोड दिएको तथा लगानीका लागि आउनेलाई हामीले प्रतिफलको पनि स्पष्ट खाका दिनुसक्नु पर्ने सुुझाव दिए । लगानीका लागि गरिएको प्रतिबद्धताअनूरुप लगानी आउन नसक्नुका पछाडी मिहिन ढङ्गले अध्ययन गरी प्रतिबद्धताअनुरुपको अधिकतम लगानी भित्र्याउन सरकार लागेको पनि उनले बताए ।