काभ्रे । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका वडा नं. ३ स्थित भृकुटि माध्यमिक विद्यालयमा युवा नेता तथा समाजसेवी रोशन राज पाण्डेले विद्यार्थीहरूका लागि खेलकुद सामाग्री वितरण गरेका छन्।
दुर्गम क्षेत्रका विद्यार्थीहरू राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन खेलकुद सामाग्रीको अभाव भोग्दै आएको अवस्थामा समाजसेवी तथा युवा नेता प्रकाश वाईवाको पहलमा उक्त सहयोग प्रदान गरिएको हो। पाण्डेले प्रतिभा गाउँमै जन्मिने र अवसर दिन सके मात्र त्यसले निखार पाउने भन्दै विद्यार्थीहरूलाई खेलकुदतर्फ प्रोत्साहन दिएका छन्।


यस सहयोगले विद्यार्थीहरूको मनोबल उच्च भएको विद्यालय प्रशासनको भनाइ छ। खानीखोला गाउँपालिकाका उपाध्यक्ष दोर्जेमान जिम्बाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गाउँपालिकाका प्रशासकीय अधिकृत रामकुमार तिमल्सिना, वडा नं. ३ का वडाध्यक्ष सागर जिम्बा, समाजसेवी तथा युवा नेताहरू तथा शिक्षक–शिक्षिकाको उपस्थिति रहेको थियो।










