काठमाडौं । रास्वपासँग एकता गरेको सातादिन नबित्दै उज्यालो नेपालका पदाधिकारी निर्वाचन आयोग पुगेका छन् ।
उज्यालो नेपालका पदाधिकारी निर्वाचन आयोग पुगेर समानुपातिकतर्फ पार्टीका तर्फबाट छुट्टै बन्दसूची बुझाउन पाइन्छ कि पाइँदैन भनी सोधखोज गरेका थिए । उज्यालो नेपालका अध्यक्षसमेत रहेका अनुपकुमार उपाध्यायको नेतृत्वको एक टोली शुक्रबार साढे २ बजे आयोग पुगेको थियो ।


तर आयोगले अब बन्दसूची बुझाउन नपाइने जवाफ दिएको स्रोतले जानकारी दियो । उपाध्याय रास्वपाको समानुपातिक सूचीमा छन् । सो पार्टीका संरक्षकसमेत रहेका कुलमान घिसिङ रास्वपाको उपसभापति रहनेगरी सहमति भएको थियो ।
आयोग पुगेको उपाध्यायसहितको टोलीले पुस १४ गते राति ५० हजार धरौटी बुझाएको तर्कसहित छुट्टै बन्दसूची पेस गर्नेबारेमा छलफल गरेका थिए । तर आयोगका अधिकारीहरुले भने कानुनतः यो कुरा नमिल्ने जवाफ दिएका थिए । उज्यालो नेपालले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउनका लागि ५० हजार धरौटी बुझाएको थियो । तर त्यहीबीचमा रास्वपासँग एकता भएपछि सो पार्टीका पदाधिकारी पनि रहनेगरी बन्दसूची बुझाइएको थियो ।
रास्वपाको बन्दसूचीमा उज्यालो नेपालमा रहेका नेताको नाम पछिल्तिर राखिएको भन्दै असन्तुष्टि देखिँदै आएको छ । उज्यालो नेपालले सिफारिस गरेका केही नेताहरु नपरेको हुँदा सो समूहभित्र छलफल भएको बताइएको छ । सो पार्टीमा रहेका एक नेताका अनुसार सच्याउन दिएको समय कुर्ने र त्यसपछि नभए छुट्टै रणनीति तय गर्ने तयारी रहेको छ ।










