रसुवा । गत असार २४ को ल्हेन्देखोला बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् आयोजना मर्मतपछि सञ्चालनमा आएको छ ।
१११ मेगावाट क्षमताको सो जलविद्युत् केन्द्रका तीन टर्वाइनमध्ये हालसम्म दुई टर्वाइन तथा मुहानको ड्याम एवं नहरसमेत मर्मत गरेसँगै हाल उत्पादित ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको रसुवागढी जलविद्युत् केन्द्रले जनाएको छ ।


रसुवागढी हाइड्रोपावर कम्पनीका कार्यकारी निर्देशक सत्यराम ज्याख्वका अनुसार मर्मत सुधारपपछि ३७ मेगावाट गत मंसिरमा र ३१ मेगावाट हालै उत्पादन गरिएको हो । सफाइ एवं मर्मत बाँकी नै रहेको र अर्कोतर्फ क्षमताअनुसार उत्पादन गर्न बाँकी ४३ मेगावाट आगामी जेठ/असारबाट उत्पादन हुने जनाइएको छ ।
पानीको प्रवाह घट्न गएका कारण सुक्खायाममा विद्युत् उत्पादन घट्ने जलविद्युत् केन्द्रले जनाएको छ ।
बाढीका कारण उपकरण तथा संरचनामा क्षति पुग्दा उक्त जलविद्युत् केन्द्रले तीन अर्ब ५१ करोड क्षति व्यहोर्नुपरेको थियो । रासस










