महाभारत, काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिकाले बुधबार घर्तिछापमा निःशुल्क स्वास्थ्य शिविरको सञ्चालन गरेको छ ।
स्थानीयहरुको स्वास्थ्य सेवामा सहजताका लागि महाभारत गाउँपालिकाको आयोजनामा तथा जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोक, धुलिखेलको समन्वयमा महाभारत–८ घर्तिछापमा शिविर सञ्चालन गरिएको हो । शिविरबाट ६ सय ७६ जना नागरिक लाभान्वित भएका छन्। शिविरमार्फत स्थानीय नागरिकले गाउँमै विभिन्न विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।


शिविरमा १६८ जनाले दाँत परीक्षण र ३०० जनाले आँखा परीक्षण गराएका छन्। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत २३३ जनाको नसर्ने रोग स्क्रिनिङ गरिएको छ भने १८६ जनाको रक्त समूह परीक्षण गरिएको छ।
बालबालिकाको नाक, कान, घाँटी तथा मुटु परीक्षण २३२ जनाले गराएका छन्। त्यस्तै २७१ जनाले छाती परीक्षण गराएकामध्ये १५९ जनाले एक्स–रे सेवा लिएका छन्। सामान्य स्वास्थ्य परीक्षण ३८१ जनाले र प्रसूति तथा स्त्री रोग तथा प्रजनन स्वास्थ्यतर्फ ११० जनाले सेवा लिएका छन्।
दुर्गम गाउँ बस्ती भौगोलिक समस्यका कारण स्थानीयले रोग पालेर बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने गरी हामीले यती बेलामा पनि विशेषरुपमा यो शिविरको आयोजना गरेको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार)ले बताउनुभयो ।
शिविरमा गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार), उपाध्यक्ष सागर मोक्तान, वडाका जनप्रतिनिधिहरु, जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेको टिम, गाउँपालिका स्वास्थ्य शाखाको टिम, स्थनिय स्वास्थ्य कार्यालयको टिम लगायत स्थनीय राजनीतिक दलका नेता तथा स्थनीयहरुको उपस्थिति रहेको थियो ।










