काठमाण्डौ । निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देश र गतिविधिलाई नियन्त्रण गरिने जनाएको छ ।

सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने गलत, भ्रामक र नकारात्मक क्रियाकलापको निगरानी गर्ने आयोगले तयारी गरेको हो । सामाजिक सञ्जालमार्फत प्रवाह हुनसक्ने मिथ्या सूचना, दुष्प्रचार, घृणाष्पद अभिव्यक्ति, अपव्याख्या, डिप फेक (गहिरो भ्रम) झुटो साइट वा एकाउन्ट, निन्दा वा मानहानीलगायत विषयमाथि अनुगमन गरी गैरकानुनी कार्यलाई कानुनबमोजिम दण्डित गरिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो । यसका लागि नियामक निकायसँग सहकार्य गर्ने नीति लिइएको उहाँले जानकारी दिनुभयो ।

यसै हप्ता सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालक मेटा तथा टिकटकका प्रतिनिधिसँग संवाद भएको आयोगले जनाएको छ । यसका लागि मेटा, टिकटक र एक्स (ट्वीटर) लाई पत्राचार गरिएको छ । आयोगमा सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत रहेर काम गर्नेगरी सूचना सदाचार प्रवर्द्धन एकाईले काम शुरू गरेको आयोगले जनाएको छ । सामाजिक सञ्जाल अनुगमन सफ्टवेयरलाई प्रयोगमा ल्याइएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य चुनावलाई सफल बनाउन यो हप्ता प्रदेश सरकार र पालिकासँग समन्वय बैठक पनि सम्पन्न गरेको छ ।

यसैगरी आचारसंहिता अनुगमन समितिको बैठक यो हप्ता गरेर थप काम अघि बढाइएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त बन्द सूची रुजु गरी सम्बन्धित दललाई पत्राचार गरिएको छ । मतदाता नामावली र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम पनि शुरू भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय