काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बिच हुने भनिएको पार्टी एकता आज (शनिबार) भाँडिएको छ । रास्वपाले एकता भाँडिनुको मुख्य कारण उनेपा संरक्षक कुलमान घिसिङले राखेका विभिन्न अडान रहेको दाबी गरेको छ ।
पुस १४ गते १२ दिनअघि सुरु भएको एकताको पहल विभिन्न चरणमा छलफल भए पनि अन्ततः दुई दल एक हुन नसकेपछि आ–आफ्नै ढङ्गले अघि बढ्ने तयारीमा लागेका छन् । रास्वपाको दाबी अनुसार उनेपाका संरक्षक कुलमान घिसिङले प्रधानमन्त्री सरहको पदसहित आफ्ना वरिष्ठ नेता, पदाधिकारी र सम्पूर्ण केन्द्रीय सदस्यलाई रास्वपामा समायोजन गर्नुपर्ने सर्त राखेका थिए ।


समानुपातिक उम्मेदवारलाई बन्दसूचीको पहिलो रोहमा राख्नुपर्ने कुलमान पक्षले अडान नछाडेपछि सहमति भाँडिएको रास्वपाले बताएको छ । रास्वपाका नेता गणेश पराजुलीले अधिकतम लचकताका बाबजुद पनि उज्यालो नेपालसँगको सहकार्य हुन नसकेको बताए ।
पराजुलीका अनुसार आफूहरूले मानेको लोकतान्त्रिक सिद्धान्तमा पुनर्विचार गरेर नयाँ राजनीतिक सिद्धान्त बनाउनुपर्ने उनेपा पक्षको मागमा रास्वपाले असहमति जनाएको हो । रास्वपाका प्रवक्ता मनिष झाका अनुसार पदाधिकारीमा अहिले भएकोमा थप तीन वटा पद दिनुपर्ने, वरिष्ठ उपसभापति कुलमानलाई दिनुपर्ने र थप एक महामन्त्री राखेर उनेपाको भागमा पार्नुपर्ने मागमा रास्वपाले सहमति जनाउन नसकेको हो ।
यसैबिच एकता भाँडिएपछि उज्यालो नेपालले केन्द्रीय समिति बैठकले कुलमानलाई अध्यक्ष घोषणा गरेको छ । विगतमा गरेको सहमति कार्यान्वयन र सम्झौताबाट दुवै पक्ष हटेपछि सहकार्य टुङ्गिएको दुवै पक्षले जनाएका छन् ।
रास्वपा र कुलमानबिच पुस १४ गते ७ बुँदे पार्टी एकता गर्ने लगायतका सहमति भएको थियो । तर, उक्त सहमतिअनुसार दुवै पक्ष नहिँडेपछि सहमति भाँडिएको हो । उनेपासँग भएको उक्त सहमति रास्वपाको शनिबारै बसेको केन्द्रीय सचिवालय बैठकले खारेज गरेको रास्वपाले जनाएको छ ।
बैठकमा रास्वपा सभापति रवि लामिछानेले उनेपाको प्रस्ताव मान्न नसकिने भएकाले ऊसँगको सहमति खारेज गर्नुपर्ने अवस्था आएको जनाएका थिए । यता उनेपाका नेताहरूले भने रवि लामिछाने नेतृत्वको रास्वपाले सङ्घीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशीताका मुद्दामा अस्पष्ट रहेकाले एकता भाँडिएको जनाएको छ ।
‘मूल विषय भनेको सङ्घीयता, धर्मनिरपेक्षता र समावेशीका मुद्दा हुन् । यी मुद्दामा रास्वपा प्रस्ट हुन सकेन । अस्पष्टबिच पार्टीमा सँगै जान सकिएन,’ कुलमाननिकट गणेश घिसिङले भने,‘अरू विषय गौण हुन् ।’
स्रोतका अनुसार रास्वपासँगको एकता प्रक्रिया भाँडिएसँगै उनेपाले अर्को कुनै पार्टीसँग एकता गरेर पुस २८ अघि नै समानुपातिक नामहरू सच्याउने छ । त्यसपछि प्रत्यक्षतर्फको उम्मेदवार पनि उनेपाले आफ्नै ढङ्गले तय गर्नेछ ।
जेनजी आन्दोलनपछि रास्वपा, कुलमान र काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह एकै पार्टीबाट चुनाव लड्ने प्रयत्न गरेका थिए । त्यसका लागि हामी नेपाल पार्टीका सुदन गुरुङले उनीहरूलाई मिलाउने प्रयत्न गरेका थिए ।
गत पुसमा पनि उनै गुरुङको जोडबलमा रास्वपा र उनेपाबिच एकता गराइएको थियो । रवि, बालेन र कुलमान सहभागी उक्त सहमतिकै क्रममा कुलमानले आफ्ना माग राखेपनि पछि एडजस्ट गर्न सकिने रवि पक्षले आश्वासन दिएको तर पछि कार्यान्वयन गर्नुको साटो धोका दिएको कुलमान पक्षको गुनासो छ ।










