सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कालीकोटका नेताहरू आज (पुस २७)देखि उमेदवार छनोटमा सक्रिय भएका छन् । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफूले रुकुम पूर्वबाट प्रतिस्पर्धा गर्ने करिब निश्चित भएको बताएपछि कालीकोटका नेताहरू उमेदवार सिफारिसमा होमिएका हुन् ।
यही पुस १७ गते कालीकोटबाट प्रतिनिधित्व गर्ने नेकपा केन्द्रीय सदस्यहरूको बैठकबाट प्रचण्डको एकल नाम सिफारिस गरिएको थियो । त्योसँगै पार्टीमा कालीकोटबाट उमेदवारका आकांक्षी चुप थिए ।


कालीकोटभन्दा अगाडि प्रचण्डको नाम रुकुम पूर्व–१, महोत्तरी–३, सिन्धुली–२, कास्की–३ लगायत निर्वाचन क्षेत्रबाट सिफारिस भइसकेको थियो ।
शनिबार (पुस २७) रुकुम पश्चिममा नेकपा जिल्ला कमिटीले आयोजना गरेको एकता घोषणासभामा प्रचण्डले आफू रुकुम पूर्वमा आउने करिब निश्चित भइसकेको बताए । त्यसपछि कालीकोटबाट नेकपाका कसले चुनाव लड्छ भन्ने चासोका साथ हेरिएको छ ।
जिल्लाबाट यसअघि नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीलगायत आंकाक्षीको नाम सिफारिस भइसकेको छ । नेकपा (एमाले)बाट नगिन्द्र शाहीको नाम एकल सिफारिस गरिएको छ । नेकपा (माओवादी)का नेता खड्गबहादुर विश्वकर्माको नाम पनि पार्टीमा एकल सिफारिस गरिएको थियो ।
नेकपा कालीकोटका नेता डम्बरबहादुर शाहीले प्रारम्भिक चरणमा चार नेताले आकांक्षा राखेका बताए । उनीहरूबीचमा छलफल भइरहेको शाहीले जानकारी दिए ।
उनका अनुसार, नेकपामा महेन्द्रबहादुर शाही, जीवन बुढा, लक्ष्मीप्रसाद चौलागाईं र मनबहादुर सिंहबीच छलफल भइरहेको छ । शाही, बुढा र चौलागाईं पूर्वमाओवादीधारका हुन् । सिंह रामराजाप्रताप सिंह समूहबाट एकतामा आएका व्यक्ति हुन् ।
महेन्द्र शाही दोस्रो संविधानसभा निर्वाचन, २०७०, प्रदेशसभा सदस्य निर्वाच, २०७४ र प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ मा निर्वाचित सांसद र संघीय सरकारका पूर्वमन्त्री तथा कर्णाली प्रदेशका मुख्यमन्त्री भइसकेका व्यक्ति हुनु । जीवन बुढा राष्ट्रियसभाका पूर्वसांसद हुन् । चौलागाईं र सिंह भने हालसम्म कुनै निर्वाचनमा उमेदवार बनेका छैनन् ।










