खानीखोला । काभ्रे न्यानो कपडा वितरण अभियान अन्तर्गत खानीखोला गाउँपालिका–६ श्री बाँसपुर आधारभूत विद्यालयका नानीबाबुहरुलाई ट्रयाकसुट, झोला र टोपी वितरण गरिएको छ । विद्यालयका प्रधानाध्यापक योगेन्द्र पुलामी मगर र तिब्बत दर्लामी मगरले सामाजिक सञ्जालमा विद्यालयको अवस्थाबारे स्टाटस लेखेपछि वडा नं. ३ का वडाध्यक्ष सागर जिम्बाको पहलमा तत्काल सहयोग अभियान सुरु गरिएको हो ।
उक्त अभियानका लागि बाँसपुरकै नवराज तितुङ, प्रमिला तितुङ , प्रिया तितुङ र भिम बोम्जनबाट आर्थिक सहयोग जुटाइएको थियो भने अपुग रकम समाजसेवी अविरल जिम्बाबाट प्राप्त भएको थियो । विद्यार्थीहरुलाई वितरण गरिएका झोला भने पाँचखाल निवासी सूर्यबहादुर तामाङ, र राजन अधिकारीले उपलब्ध गराउनु भएको हो । यसको लागि दैवलाल घिसिङ(अनुशील)ले विशेष पहल गर्नु भएको हो ।


सोही दिन खानीखोला–२ ढोका स्थित श्री जनशक्ति आधारभूत विद्यालय ढोकामा पनि ट्रयाकसुट र झोला वितरण गरिएको छ । उक्त विद्यालयका लागि ट्रयाकसुट वडा नं. २ सार्किडाँडाका युवा समाजसेवी भीम घिसिङले सहयोग गर्नु भएको हो भने झोला पाँचखाल निवासी सूर्यबहादुर तामाङले प्रदान गर्नु भएको हो । यस सम्पूर्ण कार्यमा दैवलाल घिसिङको प्रमुख समन्वय र पहल रहेको थियो ।
त्यसैगरी खानीखोला–६ श्री शारदा माध्यमिक विद्यालय देउरालीमा यस वर्ष विद्यालयमै बसेर एसईई परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरुका लागि ९ बोरा चामल, दाल,नुन, मसला र साबुन लगायत खाद्यन्न सामग्री सहयोग गरिएको छ । उक्त खाद्यन्न वडा नं. ६ का रमेश थोकर र रोहन अधिकारीको सहयोगमा संकलन गरिएको हो भने राजन अधिकारीले मुख्य समन्वयकर्ता भएर अभियान अघि बढाउनु भएको हो ।
एकै दिन तीन वटा विद्यालयमा न्यानो कपडा तथा खाद्यन्न वितरण कार्यक्रम युवा सामाजिक व्यक्तित्व नेपाली कम्युनिष्ट पार्टी नेता दैवलाल घिसिङ(अनुशील)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । श्री बाँसपूर आ.वि.मा दैवलाल घिसिङ, सागर जिम्बा र राजन अधिकारीले न्यानो कपडा र झोला वितरण कार्यक्रममा मन्तव्य राख्नु भएको थियो। प्र.अ.योगेन्द्र पुलामीले स्वागत मन्तव्य राख्नु भएको थियो । त्यसै गरि श्री जनशक्ति आ.वि. खानीखोला -२ ढोकाको न्यानो कपडा तथा झोला वितरण कार्यक्रममा दैवलाल घिसिङ, सागर जिम्बा र राजन अधिकारीले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सभापतित्व र स्वागत वि.व्य.स. अध्यक्ष राज कुमार भोलनले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन प्र.अ. बुद्धीमान थिङ्ले गर्नुभएको थियो। कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष सागर जिम्बा, नेपाली कम्युनिष्ट पार्टीको प्रदेश समिति सदस्य सृजना थिङ समाजसेवी युवा नेता राजन अधिकारी र विरेन ब्लोन (निमा) को उपस्थिति रहेको थियो ।










