काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले पार्टीको पक्षमा देशभर जनलहर देखिएको दाबी गरेको छ। संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपालद्वारा जारी अपानिमा पार्टीको पक्षमा राजनीतिक वातावरण सकारात्मक बन्दै गएको उल्लेख गरेका छन्।
अपानिमा भनिएको छ, ‘निर्वाचनबाट संसदमा बहुमत प्राप्त गर्ने, सरकारको नेतृत्व गर्ने तथा हाम्रो घोषित नीति तथा कार्यक्रमलाई लागू गर्ने दिशातर्फ हामी पूर्ण रूपमा अग्रसर हुनुपर्छ । हामी यस महत्त्वपूर्ण घडीमा पार्टीका सम्पूर्ण शक्ति निर्वाचन परिचालनमा सक्रियतापूर्वक सहभागी हुन आह्वान गर्दछौँ । हाम्रो पार्टीको पक्षमा राजनीतिक वातावरण सकारात्मक बन्दै गएको छ । मतदाताको समर्थन क्रमिक रूपमा बढ्दै गएको छ । हामी विश्वास गरौँ–विजय सुनिश्चित छ ।’


पार्टी जिम्मेवारीमा रहेकादेखि सदस्यसम्म सबैलाई चुनावमा केन्द्रित हुन आह्वान गरेका छन्। पार्टीका उम्मेदवार विरुद्ध पार्टीका कुनै पनि सदस्यले गतिविधि गरेको पाइएमा तुरुन्त कारबाहीको प्रक्रिया अगाडि बढाउने, निर्वाचन परिचालन समिति क्षेत्र, पालिका, वडा, टोल र बुथसम्म विस्तार गर्न समेत निर्देशन दिएका छन्।
अपानिमा भनिएको छ, ‘बुथमा खटिने स्वयंसेवकहरूलाई आवश्यक प्रशिक्षण र अभिमुखीकरण गर्ने । मतदान गर्नु अघि, मतदान भइरहेको अवधिमा र मतगणना हुँदा सचेत रहने । प्रत्यक्ष र समानुपातिक मतगणनाको कार्य समाप्त नभएसम्म गणनामा संलग्न स्वयंसेवकहरू यथावत् रूपमा कार्यरत रहने ।’
निर्वाचन परिचालनको कार्य सरल, शालीन र मितव्ययी ढङ्गले सञ्चालन गर्न, निर्वाचन आयोगद्वारा जारी गरिएको आचारसंहिताको पालना गर्न, पार्टीको घोषणापत्र र अपिलको विषयवस्तुहरूलाई सरल ढङ्गले जनताको घरदैलोमा पुर्याउन समेत पार्टी पङ्क्तिलाई निर्देशन दिएका छन्।










