काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिकामा नेपाली कम्युनिष्ट पार्टीका क्षेत्र नं. १ का उम्मेदवार दिननाथ गौतमले वडा नं. ६ देउरालीबाट सुरु गरेको घरदैलो कार्यक्रम वडा नं. १ को दयाँगाउँ, धार्ने हुँदै फलामेटारमा पुगेर सम्पन्न भएको छ। कार्यक्रममा समानुपातिक उम्मेदवार मिना पाख्रीन पनि सहभागी भई मतदाता तथा कार्यकर्तासँग भेटघाट गरेकी थिइन्।

घरदैलो अभियानका क्रममा उम्मेदवार गौतमले तारा चिन्हमा मतदान गरी अत्यधिक मतसहित विजयी गराउन अपिल गर्दै स्थानीय समस्याको पहिचान गरी समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले विशेष गरी यस क्षेत्रको मुख्य समस्या सडक रहेको उल्लेख गर्दै सडक विस्तारलाई पहिलो प्राथमिकतामा राख्ने बताए।

“काठमाडौंबाट नजिक भए पनि खानीखोला अति दुर्गम छ, यहाँको मुख्य समस्या सडक हो। सडक विस्तार भएसँगै कृषि, व्यापार र समग्र विकासले गति लिन्छ,” गौतमले भने।
धुलिखेलबाट करिब ७० किलोमिटर टाढा रहेको खानीखोला गाउँपालिका विकासका दृष्टिले पछि परे पनि सम्भावनाले भरिपूर्ण क्षेत्र भएको नेताहरूको भनाइ छ। यस क्षेत्रलाई ‘नेपालकै कर्णाली’ भनेर चिनिने गरिएको उल्लेख गर्दै गौतमले कृषि उत्पादनलाई बजारसँग जोड्ने योजना अघि सारेका छन्।

यहाँका मुख्य उत्पादनमध्ये खुवा, कफी, अदुवा लगायतका कृषि उपजलाई बजार सुनिश्चित गरी कृषकलाई उचित मूल्य दिलाउने प्रतिबद्धता उनले व्यक्त गरे। विजयी भएपछि संघीय सरकारसमक्ष आवश्यक पहल गर्ने उनको भनाइ छ।

समानुपातिक उम्मेदवार मिना पाख्रीनले महिला, आदिवासी जनजाति तथा पिछडिएका समुदायको हकहितका लागि आफू निरन्तर आवाज उठाउँदै आएको बताउँदै तारा चिन्हमा मतदान गर्न आग्रह गरिन्। “संसदमा समावेश भएमा यस क्षेत्रको विकासका लागि हरसंभव सहयोग गर्नेछु,” उनले भनिन्।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री रत्न प्रसाद ढकालले खानीखोला सम्भावनाले भरिएको क्षेत्र भएको उल्लेख गर्दै बागमती प्रदेशमार्फत आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

घरदैलो कार्यक्रममा केन्द्रीय सदस्य तथा नं. १ प्रचारप्रसार संयोजक अकल बहादुर थिङ (महेश), बागमती प्रदेश सचिव तथा खानीखोला अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ), प्रदेश कमिटी सचिवालय सदस्य दैबलाल घिसिङ (अनुसिल), जिल्ला कमिटी सदस्य तथा समाजसेवी राजन अधिकारी, मनिता लामा, श्रीजना थिङ, युवा नेता बिरेन लामा (निमा), दिनेश थिङ (चर्चित), सन्चमान थिङ, रामकाजी भोलनलगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

खानीखोलामा तारा चिन्हको अभियान तीव्र बन्दै गएको र स्थानीय जनताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको आयोजकहरूको दाबी छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय