काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धन हुने स्थानीय तहमा सुझबुझपूर्ण ढङ्गले पार्टीले बनाएको नियमकै आधारमा उम्मेदवार छनोट हुने बताएका छन् ।
पार्टीको काभ्रेपलाञ्चोक जिल्ला समितिद्वारा बुधबार बनेपामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता शर्माले निर्वाचनमा तालमेल बाध्यकारी नभएको बताएका छन् । आवश्यकताका आधारमा स्थानीय स्थिति र भावनामा भने तालमेल हुने बताएका उनले गठबन्धन हुँदा भने साझा चुनावी घोषणापत्र बनाउनुपर्ने बताए । कांग्रेसलाई अधिकांश स्थानीय तहमा निर्वाचित गराउन तालमेल गर्न लागिएको महामन्त्री शर्माको दाबी छ ।
गठबन्धन हुँदा सहयात्री दलबीच कुन तहमा कस्ता उम्मेदवारी दिने भन्ने विषयले चर्चा पाउन थालेको बताउँदै उनले यसबारे पार्टीको संसदीय बोर्डले निर्णय गर्ने बताए । शर्माले १५५ स्थानीय तहमा कांग्रेसका उम्मेदवार पराजित भएका स्थानमा दश प्रतिशत र पराजित ८४ स्थानीय तहमा पाँच प्रतिशत मत बढाउँदा विजयी हुनसक्ने तथ्याङ्क आँकलन गरेका थिए ।
यस्तै कार्यक्रममा जिल्ला सभापति तीर्थ लामाले आगामी निर्वाचनमा जिल्लाको १३ स्थानीय तहमै आफ्नो पार्टाी विजयी हुने योजना बनाइरहेको जानकारी दिए ।