
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश श्रीलंकाको जस्तो आर्थिक संकटमा जाने अवस्थामा नरहेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अर्थतन्त्रलाई दुर्घटनामा जानबाट रोक्न विशेष योजना ल्याउन लागेको बताए । उनले भने, ‘अर्थतन्त्रलाई दुर्घटनामा जानबाट रोक्न हामी छलफल गरेर योजना ल्याउँदैछौं । ‘श्रीलंकाको जस्तो अवस्थामा नेपाल जाँदैन ।’


प्रचण्डले चुनावमा गठबन्धन बनाएर जानेमा प्रष्ट भएको बताए । उनले भने, ‘चुनावमा हामी गठबन्धन बनाएर जानेमा दुविधा छैन, मिलेर जान्छौं ।’ माओवादीले देशको संकटमोचनमा जहिले पनि मुख्य भूमिका खेलेको भन्दै अप्ठ्यारो चुनौतीलाई पार लगाउन पछि नपर्ने बताए । उनले माओवादीलाई स्वीकार्न पनि नसक्ने विचित्रको अवस्था रहेको बताए । अध्यक्ष प्रचण्डले निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष बनाउन आफ्नो ध्यान केन्द्रीत रहेको बताए ।