काठमाडौं । प्रत्येक निर्वाचनअघि विदेशमा रहेका नेपालीलाई मताधिकारको विषय जोडतोड साथ उठ्छ । निर्वाचन सकिएसँगै मुद्दा सेलाउँछ । यसपालि मताधिकारको विषय उठ्यो र ‘हाल सम्भव नहुने’ जिकिरसहित मुद्दा पाखा लगाइयो ।

अनि त्यसरी मुद्दा उठाउनु र सेलाउनुको रणनीतिक कारण देखिन्छ, ‘विदेश गएका नेपालीलाई आकर्षित गरी नेपालमा रहेका उनका परिवारलाई प्रभावित पार्नू ।’

विदेशमा कति नेपाली छन् त ? यो प्रश्नको ठ्याक्कै जवाफ भेटिँदैन । नेपाली नपुगेका विश्वमा कमै देश छन् ।

विदेशमा दूतावास, स्थायी नियोग र महावाणिज्य दूतावास गरी नेपालका कुल ४४ नियोग सञ्चालनमा छन् । ती नियोग प्रयोग गरी परराष्ट्र मन्त्रालयले नेपालीको तथ्याङ्क संकलन गर्दै छ ।

“विदेशमा हाल ४० लाख नेपाली रहेको हाम्रो प्रारम्भिक अध्ययनले देखाउँछ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बाह्रखरीसँग भने, “यो संख्या भारतबाहेक हो ।”

उनका अनुसार, भारतबाहेकका देशमा रहेका ४० लाख नेपालीमध्ये २५ लाख नेपाली वैदेशिक रोजगारीमा संलग्न छन् । बाँकी १५ लाख नेपाली अध्ययन, अन्य भिसा, अवैध तरिकाले विदेश गई त्यतै बस्नेहरू छन् । यो तथ्याङ्क २०८२ माघ १७ गतेसम्म (२०२६ जनवरी) सम्मको हो । विदेशमा रहेकामा बालबालिका, वयस्क, वृद्धवृद्धा सबै पर्छन् ।

भारतमा चाहिँ कति छन् त ? नयाँ दिल्लीस्थित नेपाली दूतावासका उपप्रमुख डा. सुरेन्द्र थापाले बाह्रखरीसँग भने, “भारतमा ठ्याक्कै यति संख्यामा नेपाली छन् भन्ने तथ्याङ्क छैन । तर, अध्ययनले भारतमा २० देखि ५० लाखसम्म नेपाली रहेको देखाउँछ ।”

उपप्रमुख थापाका अनुसार, भारतमा ठुलो संख्यामा नेपाली आफ्नो पहिचान खुलाउन चाहँदैनन्, त्यहीकारण संख्या यकिन गर्न गाह्रो परेको छ ।

“ठूलो संख्यामा यस्ता व्यक्ति छन्, जससँग नेपाल र भारत दुवैतिर नागरिकता छ । यस्ता व्यक्तिहरू पहिचान खुलाउन चाहँदैनन् । यसैकारण भारतमा ठ्याक्कै यति संख्यामा नेपाली छन् भन्न गाह्रो छ,” उपप्रमुख थापाले बताए ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता क्षेत्री र नयाँदिल्लीस्थित नेपाली दूतावासका उपप्रमुख डा. थापाको भनाईलाई आधार मान्दा ६० देखि ९० लाख नेपाली हाल विदेशमा छन् । यो भनेको नेपालको झण्डै एकतीहाई जनसंख्या हो । राष्ट्रिय जनगणना २०७८ मा नेपालको कूल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ उल्लेख छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता क्षेत्रीका अनुसार, भारतपछाडि नेपालीको सबैभन्दा ठूलो संख्या युनाईटेड अरब इमिरेट्स (यूएई)मा छ । यूएईमा ७ लाख नेपाली छन् ।

परराष्ट्र मन्त्रालयबाट प्राप्त विवरणअनुसार, साउदी अरेबियामा ३ लाख ८४ हजार, कतारमा ३ लाख ५७ हजार, मलेसियामा ३ लाख ५० हजार, कुवेतमा १ लाख ८५ हजार, जापानमा १ लाख ६० हजार, दक्षिण कोरियामा ७५ हजार, अमेरिकामा ३ लाख, बेलायतमा १ लाख ५० हजार, ओमानमा २५ हजार, बहराइनमा २८ हजार, युरोपेली देशमा १ लाख र अफ्रिकी मुलुकहरूमा ३१ हजार ५०० नेपाली छन् । त्यस्तै अस्ट्रेलियामा करिब दुई लाख नेपालीको संख्या रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

विदेशमा रहेका नेपाली कतिको मतदान गर्ने उमेर पुगेको छ वा कतिले मतदाता परिचयपत्र बनाएका छन् भन्ने विवरण कसैसँग छैन ।

निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेको विवरण सार्वजनिक गरेको छ । यीमध्ये कति नेपालमै छन् र कति विदेशमा छन् भन्ने पनि विवरण नेपालका कुनै निकायसँग छैन । विदेशमा रहेका नेपालीलाई मतदान निम्ति नेपाल आउन आकर्षित गर्ने सरकारले कुनै कार्यक्रम पनि बनाएको छैन ।

“विदेशमा रहेका नेपालीलाई मतदान गर्न नेपाल आउनोस् भनी बोलाउने कुनै प्रचलन छैन । सामाजिक सञ्जालमा हामीले सूचना तथा सन्देश राखी आउनोस् भन्ने हो,” निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले भने ।

वैदेशिक रोजगार विभागका अनुसार, चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिना अर्थात् २०८२ साउन १ गतेदेखि माघ मसान्तसम्मको अवधिमा मात्र वैदेशिक रोजगारीमा जान कुल ४ लाख ७२ हजार ५७७ जनाले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमध्ये धेरैजसो वैदेशिक रोजगारीमा गइसकेका छन् ।

सरकारले २०८२ भदौ २७ गते फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन गर्ने घोषणा गरेको थियो । निर्वाचनको मिति घोषणा भएयता ३ लाख ३६ हजार ४९५ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कले देखाउँछ । विभागका अनुसार, २०८२ असोजमा ६४ हजार ६३४, कात्तिकमा ७३ हजार ९४, मंसिरमा ६५ हजार ७०५, पुसमा ६२ हजार ५५९ र माघ ७० हजार ५०३ जनाले श्रम स्वीकृति लिएका छन् ।

अध्यागमन विभागको तथ्याङ्कअनुसार विदेश जाने नेपालीको संख्या प्रत्येक वर्ष बढ्दो छ । यसरी जानेमध्ये ठूलो संख्यामा नेपाली लामो समय विदेशी भूमिमै बिताउँछन् । सन् २०२५ मा १७ लाख १८ हजार ६८८ जना नेपाली विदेश गएको विभागको तथ्याङ्कले देखाउँछ । त्यही वर्ष विदेशबाट १५ लाख ८ हजार २५८ जना नेपाली फर्केका थिए । सन् २०२५ मा विदेशबाट फर्कनेभन्दा जानेको संख्या २ लाख १० हजार ४३० ले बढी देखिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय