
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीको भाडा बृद्धि गरेको छ ।
मन्त्रालयले यात्रुवाहक तथा मालवाहक सवारी साधनको सार्वजनिक सवारीसाधनको भाडादर १० देखि १४ प्रतिशतसम्म बढाएको हो । इन्धनको मूल्य बढेपछि यातायात व्यवसायीको दबाबमा सरकारले सार्वजनिक सवारीसाधनमा भाडा बढाएको हो ।


मन्त्रीस्तरीय निर्णयमार्फत प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा हाल कायम भएको दरमा १० देखि १४ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको हो । एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने मालबाहक तथा यात्रुबाहक सवारीसाधनमा मात्रै भाडा बढेको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिएका छन् ।
महानिर्देशक घिमिरेका अनुसार रुटगत भाडादर आइतबार प्रकाशित गरिनेछ । साथै अब इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरैले घटबढ भएमा सोअनुसार स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्ने निर्णय पनि भएको छ । यसअघि यातायात व्यवस्था विभागले नै स्वचालित प्रणालीअनुसार सार्वजनिक सवारीसाधनको भाडा बढाउन मन्त्रालयमा सिफारिस गरेको थियो ।
अहिले विभागले अन्तर प्रदेश चल्ने सवारीसाधनको भाडादर समायोजन गर्न लागेको हो । संविधानअनुसार दुई वा त्योभन्दा बढी प्रदेशमा चल्ने राष्ट्रिय लामो दूरीको सवारीसाधनको भाडादर सरकारले निर्धारण गर्छ । प्रदेशभित्र चल्ने सवारीसाधनको प्रदेश सरकार र स्थानीय तहभित्र चल्ने सवारीसाधनको भाडादर सम्बन्धित सरकारले निर्धारण गर्ने व्यवस्था छ । लामो रुटमा भाडादर बढेपछि स्वतः मध्यम र स्थानीय रुटमा चल्ने सवारीसाधनमा भाडादर बढ्ने गर्छ ।