पश्चिमा देशलाई आजदेखि ग्यास आपूर्ति बन्द गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आज (शुक्रबार) देखि युरोपसहित पश्चिमा देशहरुलाई दिंदै आएको प्राकृतिक ग्यास बन्द गर्ने चेतावनी दिएका छन।
युक्रेनसँगको युद्ध लम्बिंदै जाँदा पुटिनले युक्रेनका सहयोगी देशहरुमाथि दबाव बढाउने रणनीति लिन थालेको छ । प्राकृतिक ग्यास निर्यात सम्बन्धि आदेशमा हस्ताक्षर गर्दै पुटिनले रुसी मुद्रा रुबलमा कारोबार नगर्ने देशहरुलाई ग्यास लगायतका इन्धन आपूर्ति बन्द गर्ने बताएका हुन् । त्यसका लागि एक रातको समय दिंदै पुटिनले शुक्रबार अर्थात आजसम्म रुबलमा ग्यास खरिदको प्रक्रियामा नजानेहरुलाई आपूर्ति रोक्ने बताएका छन ।
हामीलाई पनि कसैले फ्रिमा केही दिएको छैन, हामी पनि कसैलाई दान दिनसक्ने अवस्थामा छैनौं भन्दै पुटिनले इन्धन खरिद सम्बन्धि पुरानो करार रद्द गरिएको बताएका छन । रुसले युरोपेली देशहरुलाई ग्यास आपूर्ति गर्दैआएको छ । रुसले ग्यास आपूर्ति बन्द गरे युरोपमा इन्धनको हाहाकार हुने र मूल्यवृद्धि आकाशिने विश्लेषण गरिएको छ ।
उता, जर्मनी, फ्रान्सलगायतका देशहरुले ब्ल्याकमेल नगर्न रुसलाई चेतावनी दिएका छन् । पश्चिमा देशहरुले रुसलाई उसको मुद्रामा भुक्तानी दिन यस अघि नै अस्वीकार गरिसकेका छन् ।
युरोपले आफ्नो आवश्यकताको ४० प्रतिशत ग्यास र ३० प्रतिशत तेल रुसबाट लिने गर्दछ । यता, अमेरिकी राष्ट्रपति जो बाइडनले भने उच्च ऊर्जा मूल्यलाई घटाउने प्रयास स्वरूप अमेरिकी रणनीतिक भण्डारहरूबाट ठूलो परिमाणमा तेल निकाल्न आदेश दिएका छन्। आउँदो ६ महिनामा १८ करोड ब्यारलसम्म तेल निकालिने बताइएको छ जुन सन् १९७४ मा त्यस्तो भण्डार सिर्जना गरिएयताकै उच्च हो।
युक्रेनमा जारी युद्धले सिर्जना गरेको आपूर्ति सङ्कटमाझ बाइडनका त्यस्तो कदमका खबरहरू आउन थालेसँगै तेलको मूल्य घटेको छ। तर विश्लेषकहरूले दैनिक १० लाख ब्यारलजति तेल निकालेर ऊर्जा सङ्कट समाधान नहुने बताएका छन्।
बाइडनको घोषणा लगत्तै बजार मूल्यमा केही प्रभाव परेका छन्। वेस्ट टेक्सस इन्टरमिडिएट ७ प्रतिसतले झरेर प्रतिब्यारल १०० डलर पुगेको थियो। त्यस्तै ब्रेन्ट क्रुड झण्डै ५।४ प्रतिसतले झरेर १०७ डलर पुगेको थियो। ऊर्जाको बढ्दो मूल्य अमेरिकासहित अहिले संसारभर एउटा राजनीतिक मुद्दा बनेको छ। अमेरिकामा नोभेम्बरमा सङ्घीय संसद्को चुनावहरू हुँदैछन्।