काठमाडौँ । नेपाल आयल निगम र एलपी ग्यास उद्योग संघ, पेट्रोलियम डिलर्स, ढुवानी व्यवसायी/उद्योगीबीच चार बुँदे सहमति भएको छ । शनिबार साँझ भएको वार्तामा चार बुँदे सहमति भएपछि व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् ।
बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै व्यवसायीहरु एक साताअघिदेखि आन्दोलनमा थिए ।
पेट्रोलियम पदार्थका उपभोक्ताहरूलाई सहज र सरल ढङ्गले पेट्रोलियम पदार्थ उपलब्ध गराउन निगमका सम्पूर्ण डिपो कार्यालयहरू आइतबार बिहान ८ बजेदेखि नै सञ्चालन गरिने निगमले जनाएको छ । प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले आजै पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न समस्या तत्काल समाधान गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका थिए।
उनले आपूर्ति सचिव डा गणेशप्रसाद पाण्डे, नेपाल आयल निगमका कार्यवाहक महानिर्देशक वीरेन्द्र गोइत र नेपाल पेट्रोलियम डिलर्स एशोसिएशनका महासचिव विश्व अर्याललाई तत्काल समस्या समाधान गर्न निर्देशन दिएका थिए ।