काभ्रे, महाभारत । मृगौला रोगबाट पीडित एक युवाले आफ्नो जीवन बचाउन सबैसँग आर्थिक सहयोगको अपिल गरेका छन्। काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–४ महादेवटार (सिमल्टार) निवासी ३७ वर्षीय चन्द्रबहादुर मुक्तान आर्थिक अभावका कारण उपचारमा समस्या भोग्दै आएका छन्।
दुवै मृगौलाले काम गर्न छोडेपछि गम्भीर अवस्थामा पुगेका मुक्तान विगत चार वर्षदेखि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत छन्। एक महिनाअघि उनको एउटा मृगौला शल्यक्रियामार्फत निकालिएको छ भने हाल अर्को मृगौलाले आंशिक रूपमा मात्रै काम गरिरहेको चिकित्सकहरूले बताएका छन्।


हाल मुक्तानले हरेक हप्ता दुई पटक डायलाइसिस गराउँदै आएका छन्। चिकित्सकले उनको दीर्घकालीन जीवन बचाउन मृगौला प्रत्यारोपण आवश्यक रहेको सुझाव दिएका छन्। तर, प्रत्यारोपणका लागि लाखौँ रुपैयाँ खर्च लाग्ने भएपछि परिवार आर्थिक संकटमा परेको छ।

मुक्तानसँग उनकी पत्नी र दुई नाबालक सन्तान आश्रित छन्। परिवारको मुख्य कमाउने सदस्य नै बिरामी परेपछि घरपरिवारको अवस्था दयनीय बनेको छ। उनका वृद्ध बुबाआमाले सामान्य खेतीपातीबाट आउने आम्दानीसमेत उपचारमै खर्च गर्नुपरेको बताइएको छ।
मुक्तानकी दिदी नानी मुक्तानका अनुसार अस्पतालले ठूलो रकम आवश्यक पर्ने बताएपछि उनीहरू अहिले सहयोग जुटाउन विभिन्न ठाउँमा पहल गरिरहेका छन्।
स्वास्थ्य अवस्था थप जटिल बन्न नदिन यथाशीघ्र मृगौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकको सुझाव अनुसार पीडितले सबैमा सहयोगको अपिल गरेका छन्।
सहयोग गर्न इच्छुक व्यक्ति वा संघसंस्थाले पीडित चन्द्रबहादुर मुक्तान (मोबाइल: ९७६७९८६५१४) वा नानी मुक्तान (मोबाइल: ९७४४३७८४३०) मा सम्पर्क गर्न सक्नेछन्। साथै, ग्लोबल आइएमइ बैंकमा रहेको खाता नम्बर ३५१०७०१००२२९३२ मा सिधै सहयोग रकम जम्मा गर्न वा क्युर गर्न सकिनेछ। आवश्यक अनुसार ग्लोबल खबरको टिमलाई पनि सम्पर्क गर्न सक्नुहुने छ ।











