काठमाडौँ । नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिले सुकुम्बासी बस्ती हटाउने नाममा सरकारले पर्याप्त सूचना, संवाद र वैकल्पिक व्यवस्थापन नगरी डोजर चलाएकोप्रति गम्भीर आपत्ति जनाएको छ।
संघीय सचिवालय काठमाडौँबाट जारी प्रेस विज्ञप्तिमा सरकारले काठमाडौँ उपत्यका लगायत देशका विभिन्न क्षेत्रमा डोजर अभियान चलाउँदा हजारौँ नागरिक विस्थापित भएको उल्लेख गरिएको छ। उक्त कदमले समस्या झन् जटिल बन्दै गएको घेदुङको ठहर छ।


विज्ञप्तिअनुसार, डोजर कारबाहीका कारण उत्पन्न मानसिक तनावका बीच रविन तामाङ र इन्द्रबहादुर राईले आत्महत्या गरेको दाबी गरिएको छ। साथै, बिरामी, अशक्त, वृद्धवृद्धा र सुत्केरीहरू गम्भीर समस्यामा परेको जनाइएको छ।
घेदुङले धार्मिक आस्थाका केन्द्र गुम्बा, मन्दिर र चर्चसमेत भत्काइएकोप्रति आपत्ति जनाउँदै बालबालिकाहरूमा मानसिक असर परेको उल्लेख गरेको छ। विस्थापित परिवारहरूले बस्नका लागि कोठा भाडामा समेत नपाउने अवस्था सिर्जना भएको र सुकुम्बासी भनेर चिनिएपछि घरबेटीले निकाल्ने घटनाहरू बढेको विज्ञप्तिमा भनिएको छ।
सरकारको व्यवहारका कारण सुकुम्बासीप्रति समाजको दृष्टिकोण नकारात्मक बन्दै गएको र उनीहरू अनागरिकजस्तै बन्न पुगेको घेदुङको भनाइ छ। यसले संवैधानिक तथा न्यूनतम मानवअधिकारको उल्लंघन भएको संघले जनाएको छ।
संघका महासचिव जगतमान लामा दोङले सरकारले उचित व्यवस्थापन नगरी बल प्रयोग गर्दै वस्ती हटाउनु मानवताविरोधी कार्य भएको टिप्पणी गरेका छन्।
घेदुङले विस्थापित नागरिकलाई तत्काल उचित बसोबासको व्यवस्था गर्न, आत्महत्या गरेका व्यक्तिका परिवारलाई क्षतिपूर्ति दिन तथा बाँकी क्षेत्रमा परामर्श र वैकल्पिक व्यवस्थापनबिना डोजर चलाउने कार्य रोक्न सरकारसँग जोडदार माग गरेको छ।











