काभ्रेपलाञ्चोक । वडा नं. ५ का वडा अध्यक्ष विजय रानाले महाभारत गाउँपालिका वडा नं. ५ र ६ अन्तर्गत पर्ने तिनखुट्टे–देबिटार कालोपत्रे सडक निर्माण कार्यमा भएको ढिलासुस्तीप्रति गम्भीर असन्तुष्टि जनाएका छन्।
उनका अनुसार, २०७७ सालदेखि श्रेष्ठ सक्षम कन्ट्रक्सनले निर्माण जिम्मा लिएको उक्त सडक आयोजना ५/६ वर्ष बितिसक्दा पनि ३० प्रतिशतभन्दा बढी प्रगति हुन नसकेको बताएका छन्।


“स्थानीय सरकारले पटक–पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले बेवास्ता गरेको छ। यो यहाँको जनजीवनमाथिको क्रुर प्रहार मात्र होइन, राज्यको सम्पत्तिको दुरुपयोग पनि हो,” वडा अध्यक्ष रानाले बताएका छन्।
त्यस्तै, उनले महाभारत गाउँपालिका वडा नं. ४ र ५ मा निर्माणाधीन तिनखुट्टे तथा पार्वती खोलाको पक्की पुल निर्माण कार्यसमेत लामो समयदेखि अलपत्र अवस्थामा रहेको बताएका छन्। उनका अनुसार, २०७७ सालमै मृत सञ्जीवनी/प्रदेश जेभी कम्पनीले सुरु गरेको उक्त पुल निर्माण कार्य हालसम्म सम्पन्न हुन सकेको छैन।
रानाले स्थानीय सरकारले पटक–पटक ताकेता गर्दा पनि निर्माण कम्पनीहरूले बेवास्ता गरेको आरोप लगाउँदै यस्ता ढिलासुस्तीप्रति हालको सरकारको ध्यानाकर्षण गराएका छन्। साथै, जिम्मेवार निर्माण कम्पनीमाथि कानुनी उपचारसहित आवश्यक कारबाही गर्न माग गरेका छन्।










