काभ्रेपलाञ्चोक । काठमाडौं उपत्यकाका विभिन्न सुकुमवासी बस्तीबाट विस्थापित गरिएका ११० जना नागरिकलाई काभ्रेको बनेपा–६ स्थित नेपाल रेडक्रस सोसाइटीको प्रशिक्षण केन्द्रमा राखिएको छ । थापाथली, गैरीगाउँ, मनोहरा, शंखमुल, बोक्सीघाट र प्रयागघाट लगायतका क्षेत्रबाट हटाइएका उनीहरू अहिले अस्थायी होल्डिङ सेन्टरमा बसिरहेका छन् ।

होल्डिङ सेन्टरमा रहेका अधिकांश नागरिक रोजगारी, बसोबास र बालबालिकाको पढाइको भविष्यलाई लिएर चिन्तित छन् । उनीहरूको साझा प्रश्न छ— “सरकारले खान र बस्न त देला, तर काम के गर्ने ? परिवारको गुजारा कसरी चलाउने ?”

काठमाडौं–९ प्रयागघाटका टेकबहादुर थापाले आफूहरूलाई खानाभन्दा पनि स्थायी बासको चिन्ता रहेको बताए ।“दिनभरि काम गरेर खान त सकिन्छ, तर बारम्बार ठाउँ सारिरहनुभन्दा सरकारले कहाँ बस्ने भन्ने टुंगो लगाइदिनुपर्छ,” उनले भने ।

धनुषाकी बीमा देवी झा ३० वर्षदेखि थापाथली क्षेत्रमा बस्दै आएकी थिइन् । उनी सरकारले छिटो छानबिन गरी गरिब नागरिकको व्यवस्थापन गर्नुपर्ने बताउँछिन् ।त्यस्तै, मनकुमारी सार्की विस्थापनसँगै रोजगारी गुमेको पीडामा छिन् । विस्थापनअघि उनी काठमाडौंमा ठेकेदारमार्फत सरसफाइ र फूल गोड्ने काम गर्थिन् । अहिले बनेपाबाट काठमाडौं पुग्न समय र खर्च दुवै लाग्ने भएकाले काममा फर्किन नसकेको उनले बताइन् ।“ठेकेदारले बोलाउँछ, तर जान सकिएको छैन । बनेपाबाट काठमाडौं पुग्नै दुई घण्टा लाग्छ,” उनले भनिन् ।

१४ दिने सुत्केरीको पीडा
थापाथलीबाट विस्थापित २० वर्षीया अन्जली कुमारी महतो १४ दिनकी सुत्केरी हुन् । वैशाख १२ गते डोजर चलाएर बस्ती हटाइएपछि उनलाई बालाजुको होल्डिङ सेन्टर लगिएको थियो । त्यही क्रममा सुत्केरी व्यथा लागेपछि परिवारले अस्पताल पुर्‍याएको र वैशाख १४ गते छोरी जन्मिएको उनले बताइन् ।
अहिले उनलाई बालाजुबाट पुनः बनेपा सारिएको छ ।

“अप्रेसन भएको ज्यानलाई कहिले कता, कहिले कता सार्दा धेरै दुख्छ,” उनले गुनासो गरिन् ।पर्याप्त पोषण र आराम नपाउँदा नवजात शिशुको स्वास्थ्यप्रति समेत चिन्ता बढेको उनले बताइन् ।

पढाइ छुट्ने चिन्तामा बालबालिका
होल्डिङ सेन्टरमा रहेका बालबालिकाको पढाइ पनि प्रभावित भएको छ । ११० जनामध्ये २८ जना विद्यार्थी रहेका छन् । नयाँ शैक्षिक सत्र सुरु भइसके पनि उनीहरूको विद्यालय भर्ना र पढाइको टुंगो लाग्न सकेको छैन ।

गुह्यश्वरी बाल शिक्षा माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत राधिका महतोले बनेपा ल्याइएपछि विद्यालय जान नपाएको बताइन् ।१३ वर्षीय रोहन परियारले बारम्बार स्थानान्तरण हुँदा पढाइ बिग्रिने चिन्ता व्यक्त गरे ।“हामीलाई जहाँ लगे पनि पढ्ने व्यवस्था गरिदिनुपर्छ,” उनले भने ।

ज्येष्ठ नागरिकदेखि नवजात शिशुसम्म
बनेपाको होल्डिङ सेन्टरमा १६ वर्षमुनिका २६ जना, १६ देखि ४० वर्ष उमेर समूहका ३४ जना, ४० देखि ६० वर्षका ३१ जना तथा ६० वर्षमाथिका १९ जना रहेका छन् ।उनीहरूमध्ये १४ दिनको नवजात शिशु, एक बौद्धिक अपाङ्ग, एक दृष्टिविहीन र ८० वर्षका ज्येष्ठ नागरिक समेत रहेका छन् ।

विस्थापित नागरिकहरूले अस्थायी बसोबासभन्दा दीर्घकालीन व्यवस्थापन, रोजगारी र बालबालिकाको शिक्षाको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय