ललितपुर जिल्लाको गोदावरी नगरपालिका आफैंमा प्रशस्त सम्भावना बोकेको स्थानीय तहको रूपमा परिचित छ । ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वका साथै गोदावरी प्राकृतिक सौन्दर्य र जैविक विविधताका लागि पनि उत्तिकै प्रसिद्ध छ ।
प्राकृतिक सौन्दर्य, धार्मिक महत्व र सांस्कृतिक धरोहरको अद्वितीय संयोजनका कारण गोदावरी नगरपालिका ललितपुर जिल्लाकै प्रमुख पर्यटन गन्तव्य बन्न सफल भएको छ । त्यसमाथि नगरपालिका अन्तर्गतको वडा नं. ३ त झन् इतिहास, संस्कृति, धर्म, कला र परम्पराको जीवित सङ्ग्रहालयजस्तै देखिन्छ । कला, संस्कृति र सम्पदाको संरक्षणसँगै वडालाई देशकै उत्कृष्ट नमुना वडाका रूपमा विकास गर्ने अभियानमा दिनरात खटिनुभएको छ वडा अध्यक्ष सानुराजा घिमिरे ‘राज’।


गोदावरी–३ को यात्रा चुनौतीरहित भने छैन । तर स्पष्ट दृष्टिकोण, सक्षम नेतृत्व र जनताको साथले “देशकै नमुना वडा” बन्ने सपना अब केवल कल्पना नभई व्यवहारमा रूपान्तरण हुँदै गएको अनुभूति गर्न सकिन्छ ।
वडा अध्यक्ष सानुराजा घिमिरे नेतृत्वमा आएपछि वडा विकासको दृष्टिले उल्लेखनीय रूपमा अघि बढेको स्थानीयवासी बताउँछन् । सामाजिक कार्यमा कुनै व्यक्तिगत स्वार्थ नराखी काम गर्ने शैलीकै कारण उहाँ जनताको मन जित्न सफल हुनुभएको छ । नम्र बोली, सहज व्यवहार र सेवाभावले उहाँलाई लोकप्रिय जनप्रतिनिधिका रूपमा स्थापित गरेको छ ।
उहाँ विकासको अभावमा पछाडि परेका बासिन्दालाई ऊर्जा र आशा दिने नेतृत्वका रूपमा चिनिनुहुन्छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, विद्युतिकरण, सिँचाइ, कृषि उत्पादन वृद्धि, पर्यटन प्रवर्द्धन तथा स्थानीय कला–संस्कृतिको संरक्षणजस्ता क्षेत्रमा उहाँले प्रतिबद्धताअनुसार काम गरिरहनुभएको छ ।
गोदावरी पर्यटकीय नगर भए पनि भित्री सडकहरू वर्षौंदेखि हिलाम्मे र कच्ची अवस्थामा थिए । वडा अध्यक्ष घिमिरेले उपलब्ध बजेटअनुसार सडक स्तरोन्नतिलाई प्राथमिकता दिँदै विकासलाई गति दिनुभएको छ । स्वास्थ्य क्षेत्रमा पनि उल्लेखनीय सुधार गरिएको छ । स्वास्थ्य चौकीमार्फत टोल–टोलमा घुम्ती सेवा सञ्चालन, चिकित्सकको व्यवस्था, ज्येष्ठ नागरिकलाई निःशुल्क औषधि वितरण, सुत्केरी महिलालाई पोषण सामग्री तथा विभिन्न स्वास्थ्य शिविर सञ्चालनजस्ता कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढाइएको छ ।
प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र शान्त वातावरणका कारण गोदावरी पर्यटनका लागि अत्यन्त सम्भावनायुक्त क्षेत्र हो । हरियाली जंगल, डाँडा–काँडा, स्वच्छ हावापानी, पदमार्ग र दृश्यावलोकन स्थलहरूले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरिरहेका छन् । प्रकृतिसँग नजिक रहन चाहनेका लागि गोदावरी आदर्श गन्तव्य बन्दै गएको छ ।
पर्यटन विकासलाई प्राथमिकतामा राख्दै नयाँ–नयाँ गन्तव्यको प्रचार–प्रसार, होमस्टे सञ्चालन, पदमार्ग विकास र सांस्कृतिक कार्यक्रममार्फत वडा नं. ३ ले पर्यटन प्रवर्द्धनमा विशेष ध्यान दिएको छ । शनिबार करिब तीन हजार पर्यटक आउने क्षेत्रलाई अहिले औसत दश हजार पर्यटक पुग्ने गन्तव्य बनाउन वडा नेतृत्व सफल भएको दाबी गरिएको छ ।
‘चपली हाइट’ चलचित्रबाट चर्चामा आउनुभएका अभिनेता सानुराजा घिमिरेले विभिन्न फिल्म तथा म्युजिक भिडियोमा पनि अभिनय गर्नुभएको थियो । उहाँले २०५७ सालमा ‘सारा खुशी’ बोलको गीतबाट अभिनय यात्रा सुरु गर्नुभएको थियो । कलाकारिताबाट समाजसेवातर्फ मोडिनुभएका घिमिरे अहिले जनताको जीवनस्तर उकास्ने अभियानमा सक्रिय हुनुहुन्छ ।
खानेपानी, शिक्षा, स्वास्थ्य र सडक पूर्वाधारलाई स्तरोन्नति गर्दै वडालाई समृद्धिको बाटोमा अघि बढाउने, कृषि तथा पर्यटनमार्फत रोजगारी सिर्जना गर्ने र जनतालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित उहाँ विभिन्न कार्यक्रम सञ्चालन गरिरहनुभएको छ ।
बाल्यकालमा अनेकौं दुःख भोग्नुभएका वडा अध्यक्ष घिमिरे अहिले गरिब, दुःखी, असहाय र रोगीको सेवामा समर्पित देखिनुहुन्छ । उहाँ केवल आफ्नो वडाका नागरिकको मात्र होइन, जहाँ पीडा छ त्यहाँ सहयोग पुर्याउने व्यक्तिका रूपमा परिचित हुनुहुन्छ ।
विपन्न, सुकुम्बासी तथा विपद्पीडित नागरिकका लागि राहत, आवास तथा खाद्यान्न सहयोगजस्ता कार्यक्रम सञ्चालन गर्दै उहाँले मानवीय नेतृत्वको उदाहरण प्रस्तुत गर्नुभएको छ । हालै मात्र गोदावरी–१४ स्थित ज्येष्ठ नागरिक भवनका लागि उहाँले ५० हजार रुपैयाँ सहयोग गर्नुभएको थियो । त्यस्तै, बस्ती हटाइएपछि घरबारविहीन बनेका भूमिहीन तथा विपन्न परिवारलाई एक महिनासम्म खाद्यान्न सहयोग र सहुलियत भाडामा बसोबासको व्यवस्था गर्ने घोषणा पनि उहाँले गर्नुभएको छ ।
स्थानीय सरकारको सक्रियता, जनप्रतिनिधिको दूरदृष्टि र नागरिक सहभागिताको संयोजनले गोदावरी–३ विकास, सुशासन र सामाजिक एकताको दृष्टिले उदाहरणीय बन्दै गएको छ । योजनाबद्ध विकास, जनसहभागिता र पारदर्शी कार्यशैलीका कारण यो वडा निकट भविष्यमा नेपालकै नमुना वडा बन्ने दिशामा अगाडि बढिरहेको देखिन्छ ।
वडा अध्यक्ष राज घिमिरेको दृढता, सक्रियता र जनमुखी सोचले “देशकै नमुना वडा” को परिकल्पनालाई यथार्थमा रूपान्तरण गर्ने सम्भावना अझ बलियो बनाएको छ । निरन्तरता, इमान्दारिता र प्रतिबद्धता कायम रहिरहेमा गोदावरी–३ नेपालकै उत्कृष्ट वडामध्ये एकका रूपमा स्थापित हुनेमा कुनै शंका छैन ।
गोदावरी–३ केवल एउटा वडा होइन, यो सम्भावनाको जीवित उदाहरण हो ।










