
काठमाडौं । सिन्धु पर्यटन परिषद्को आयोजनामा आगामी चैत्र २८ गते ललितपुरमा “जुगल पर्यटन ” वृत्तचित्र प्रदर्शन गरिने भएको छ ।
ललितपुरको ग्वार्खोस्थीत गुण सिनेमा हलमा चैत्र २८ गते सोमबार दिउँसो २ बजे सभामुख अग्नि प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा उक्त वृत्तचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ । जुगल गाउँपालिकाको ऐतिहासिक, धार्मीक तथा पर्यटकीय स्थलहरु तीन कुण्ड, तेम्बाथान, अमिलोपानी, नेशम खोला लगायत स्थानहरुको थप पर्यटन प्रवद्र्धनका लागि त्यहाँको जनजीवन, कला संस्कृति, रहनसहन, धार्मिक विशेषताहरूको साथै सांस्कृतिक पक्षहरूलाई समेत उजागर गर्दै उक्त वृतचित्र निर्माण गरिएको छ ।


पर्यटन विकास, जुगल समृद्धिको आधार, आर्थिक उन्नति र स्थानीय स्वरोजगार भन्ने नाराका साथ आन्तरिक र बाह्य पर्यटकहरु भि-याई जुगलमा पर्यटन व्यवसायलाई उच्च बिन्दुसम्म पुराउने उद्धेश्यका साथ वृत्तचित्र निर्माण भएको छ ।
जुगल गाउँपालिकाको साँस्कृतिक ,धार्मिक, भौगोलिक र प्राकृतिको अनुपम स्वरुपहरुलाई प्रचारप्रसार गरि आर्थिक रुपमा पर्यटन क्षेत्रबाट समृद्धि बनाउन सकिने भएकाले उपत्यकाबाट सबैभन्दा नजिक पर्ने जुगल हिमाललाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न समेत यस वृत्तचित्र निर्माणले सहयोग पुग्ने निर्माता इश्वर गुभाजु बताउनुहुन्छ ।
गाउपलिकाभित्रका ऐतिहासिक महत्वका क्षेत्रका साथै भौगोलिक र प्रकृतिको अनुपमहरुको पहिचान, प्रवर्धनको निमित्त जुगलको सम्भावित पर्यटकीय स्थलहरु समेटीएर वृतचित्र तयार पारिएको उहाँको भनाई छ । मेन्दोमाया गायकका रुपमा परिचित रोशन फ्युवाद्वारा निर्देशित उक्त वृत्तचित्रमा लुकेर रहेका पर्यटन विकासका अथाह सम्भावनाहरुलाई यथार्थ चित्रण गरी वास्तविकतामा परिणत गर्न खोजिएको देखिन्छ ।
रोशनि गोले तामाङको अनुसन्धान तथा लेखन रहेको उक्त वृतचित्रमा स्थानीयलाई स्वरोजगार सिर्जना गरि आगामी दिनमा पालिकालाई आर्थिक रुपमा लाभदायी बनाउन सकिने भावहरुदेखाउने प्रयास गरिएको छ । साथै, सम्पुर्ण जुगलबासि, सिन्धुबासी, पर्यटन व्यवसायीलगायत लगायत उपत्यकामा रहनुहुने सम्पूर्णमा उपस्थितिका आयोजकले अनुरोध गरेको छ ।