महाभारत (काभ्रे) । काभ्रे जिल्लाका १३ स्थानीय तहमध्ये महाभारत गाउँपालिका असल अभ्यासतर्फ प्रथम स्थान हासिल गर्दै सम्मानित भएको छ।
जिल्ला समन्वय समिति काभ्रेको नवौँ जिल्ला सभाको अवसरमा स्थानीय तहहरूको कार्यसम्पादन, सुशासन, पारदर्शिता तथा जनउत्तरदायी सेवाको मूल्याङ्कनका आधारमा महाभारत गाउँपालिकालाई उत्कृष्ट स्थानीय तहका रूपमा सम्मान गरिएको हो।


कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालबाट गाउँपालिकाका उपाध्यक्ष सागर मोक्तानले सम्मानपत्र ग्रहण गरेका थिए।
सम्मान प्राप्तिपछि गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले यो उपलब्धि व्यक्तिगत नभई सम्पूर्ण महाभारतवासी जनताको सामूहिक मेहनत, विश्वास र सहकार्यको प्रतिफल भएको बताए। उनले प्राप्त सम्मानले गाउँपालिकाप्रति थप जिम्मेवारी बोध गराएको उल्लेख गर्दै सुशासन, पारदर्शिता, विकास र जनसेवालाई केन्द्रमा राखेर अझ प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
अध्यक्ष जिम्बाले यस सफलतामा योगदान पुर्याउने जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी तथा सम्पूर्ण महाभारतवासी नागरिकप्रति आभार व्यक्त गरे। साथै गाउँपालिकाको कार्यसम्पादनको निष्पक्ष मूल्याङ्कन गरी सम्मान प्रदान गर्ने जिल्ला समन्वय समिति काभ्रे प्रति विशेष धन्यवाद ज्ञापन गरे।
उनले जनताको विश्वास नै गाउँपालिकाको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै समृद्ध महाभारत निर्माणको अभियानलाई अझ प्रभावकारी र परिणाममुखी ढंगले अगाडि बढाइने बताए।










