चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको ९९ जना केन्द्रीय सदस्यका लागि ४०० भन्दा बढी प्रतिनिधिले उम्मेद्वारी दर्ता गराएका छन्।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले राति अबेरसम्म मनोनयन भइरहेकाले प्रथम चरणको नामावली निकाल्ने तयारी भइरहेको जानकारी दिए।

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका थिए। निर्वाचित ९९ जना मध्येबाट पदाधिकारी चयन गरिने छ। पदाधिकारी चयन भने दोस्रो चरणमा हुनेछ। मतदानका निम्ति विद्युतीय उपकरण प्रयोग गरिने छ। विदेशमा रहेकाहरूले एपमा मतदान गर्नेछन्। मतदान गर्ने चार हजार हाराहारी प्रतिनिधि छन्।

वरिष्ठ नेतामा प्रधानमन्त्री वालेन्द्र शाह निश्चितजस्तै छन्। उपसभापति, महामन्त्री र सहमहामन्त्रीका आकांक्षीहरू धेरै छन्। त्यसका लागि उनीहरूले पहिलो चरणमा केन्द्रीय सदस्यको खुडकलो पार गर्नुपर्ने हुन्छ। रास्वपाको विधानअनुसार पहिलो चरणमा सभापति र ९९ केन्द्रीय सदस्यको निर्वाचन हुनेछ भने दोस्रो चरणमा मात्र पदाधिकारीहरूको निर्वाचन हुने व्यवस्था छ।

उपसभापति :

उपसभापति पदमा महिला आकांक्षीहरूको संख्या उल्लेख्य छ। वर्तमान भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम र वर्तमान कोषाध्यक्ष लिमा अधिकारी उपसभापतिको दाबेदार हुन्। त्यस्तै विवेकशील अभियानबाट आएकी समीक्षा बाँस्कोटा र पूर्वमन्त्री तोसिमा कार्की पनि आकांक्षी छन्।

वर्तमान उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वाभाविक दाबेदार हुन् भने बालेन समूहबाट समाहित भएका पूर्वाधार विकास मन्त्री सुनील लम्साल, परराष्ट्रमन्त्री शिशिर खनाल, सांसदहरू हरि ढकाल र गणेश पराजुली पनि रेसमा छन्। विधानमा एक महिलासहित तीन उपसभापतिको व्यवस्था छ, जसमध्ये एक जना मनोनीत हुने हुँदा बाँकी दुई पदका लागि तीव्र प्रतिस्पर्धा हुने देखिन्छ।

महामन्त्री :
महामन्त्री पदमा पनि कडा प्रतिस्पर्धा छ। वर्तमान दुई महामन्त्री कवीन्द्र बुर्लाकोटी र भूपदेव शाह स्वाभाविक दाबेदार हुन्। प्रवक्ता मनिष झाले वर्तमान नेतृत्वमाथि प्रश्न उठाउँदै औपचारिक रूपमै महामन्त्रीमा आफ्नो दाबेदारी प्रस्तुत गरिसकेका छन्।

सहमहामन्त्री विपिनकुमार आचार्य, लामिछाने निकट दीपक बोहोरा र हालसम्म कुनै अवसर नपाएका प्रमोद न्यौपाने पनि आकांक्षी छन्। गुल्मीका सागर ढकाल पनि महामन्त्रीको आकांक्षी रहेको बुझिएको छ। विधानअनुसार दुई महामन्त्रीमध्ये एक जना सभापतिबाट मनोनीत हुने भएकाले बाँकी एक सिटका लागि आकांक्षीहरूबीच भिडन्त हुने देखिन्छ।

सहमहामन्त्रीका दाबेदारहरू अनगिन्ती छन्। प्रतिनिधिसभाका सचेतक प्रकाशचन्द्र परियार, सांसदहरू रञ्जु दर्शना, पुकार बम, रमेश प्रसाईं, केपी खनाल, यज्ञमणि न्यौपाने र खगेन्द्र सुनारलगायत यस दौडमा छन्। उपसभापति र महामन्त्री नपाउनेहरूले पनि सहमहामन्त्रीमा चित्त बुझाउने रणनीति बनाएका छन्। गृहमन्त्री सुधन गुरुङले स्पष्ट रूपमा मुख नखोले पनि उनी पनि पदाधिकारीको आकांक्षी हुन्।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय